• १६ भदौ २०८१, आइतबार

मिसेस ग्लोबल नेपाल २०२४ को उपाधि सुनीता भुजेललाई

blog

काठमाडौं, साउन २७ गते । मिसेस ग्लोबल नेपाल २०२४ को उपाधि फेसन डिजाइनर सुनीता भुजेलले जित्नु भएकाे छ । उहाँले उपाधिसँगै एन. एफ. इ. ए. २०२५ अवार्ड जापान जाने इन्ट्री प्याकेजसमेत पाउनु भएको हो । 

राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रममा सुस्मा लामा गुरुङ फस्ट रनर अप तथा रोजी मर्हजन सेकेन्ड रनर अप हुनु भएको छ । हिमालयन मुभिजकाे आयोजनामा सम्पन्न सो विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता सिरिजको सातौं संस्करण हो ।


अन्तर्राष्ट्रिय अवार्ड विजेता तथा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाकाे कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा दर्जनौं प्रतियोगीले करिब तीन सातासम्म व्यक्तित्व विकास अभ्यास, स्टेजको प्रस्तुति क्याटवाक, फोटोसुट, बाैद्धिकता अभिवृद्धि, आत्मविश्वास अभिवृद्धिलगायत विषयमा तालिम लिएका थिए । निकै आकर्षक पहिरनका विविध संस्करणमा प्रतियोगीहरुले परिचयात्मक, पोशाक प्रदर्शनी, उत्कृष्ट दश, उत्कृष्ट पाँचको प्रश्नोत्तर चरण पार गर्दै विजयको सँघारमा पुगेका थिए । 

विविध सबटाइटल अवार्डहरु वितरण गरिएको थियो जसमा विजेता सुनीता मोस्ट इन्टिलिजेन्ट र बेस्ट ड्रस, उपविजेताहरु सुस्मा लामा गुरुङ मोस्ट एट्राक्टिम र रोजी महर्जनले मोस्ट कन्फिडेन्टको उपाधि पाउनु भएको छ । त्यस्तैगरी अन्यतर्फ मोस्ट ग्रोसफुल सन्जु मगर, मोस्ट इलिगेन्ट सृजना तावा, मोस्ट स्मार्ट मोनिका प्रधान, मोस्ट चार्मिङ रजनी शाही, मोस्ट डिलिजेन्ट लमु शेपा, मोस्ट डाइनामिक पूजा थापा बखती, मोस्ट डेडीकेट पूजा लामा, मोस्ट प्यासोनेट विमला मगराती, बेस्ट फोटोजेनिक विद्या थापा पोखरेल, बेस्ट पर्सनालिटी सम्झना नेपाली, पब्लिक च्वाइस भिडियो विद्या थापा पोखरेल र मोस्ट पपुलर सृजना तावा हुन सफल भएका थिए । 

कार्यक्रमको निर्यायक मण्डलमा चर्चित नायक एवं चलचित्रकर्मी रमेश उप्रेती, मोडल, भिजे एवं बैंकर शुभ आचार्य, मिसेस मङ्गोल नेपाल २०२३ सरिता गुरुङ, मिसेस क्यापिटल क्विन नेपाल–२०२३ लक्ष्मी भुषाल र मिसेस नोबेल नेपाल २०२३ एवम् फेसन डिजाइनर सिरोसा सापकोटा थिए भने कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गर्नुभएको थियो।