• १६ भदौ २०८१, आइतबार

न्यून गुणस्तरको दुध बिक्रीमा कडाइ

blog

बुटवलमा दुधको गुणस्तरबारे अनुगमन गरिँदै ।

बुटवल समाचारदाता

बुटवल, साउन २७ गते । सरकारले तोकेको गुणस्तर मापदण्डविपरीत बजारमा दुध बिक्री हुने गरेको पाइएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन गर्दै गुणस्तरहीन दुध बिक्रीमा कडाइ गरेको छ । 

गत साता मात्रै बुटवल बजारमा गुणस्तर मापदण्डभन्दा विपरीत दुध बिक्री भइरहेको सार्वजनिक भएको थियो । बुटवल उपमहानगरले गरेको अनुगमनमा व्यवसायीले दुधमा अत्यधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाइएको हो ।

सरकारले भैँसीको दुधमा न्यूनतम फ्याट पाँच प्रतिशत, एसएनएफ आठ, गाईको दुधमा ३.५ प्रतिशत फ्याट, एसएनएफ सात र मिक्स दुधमा ३.५ प्रतिशत फ्याट र एसएनएफको मात्रा आठ तोकेको छ तर बुटवलको बजारमा अति न्यून १.८ प्रतिशत फ्याट भएको दुध बिक्रीवितरण हुने गरेको पाइएको छ । 

बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा गरेको अनुगमनमा अत्यधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दुध बेच्ने गरेको पाइएको हो । अनुगमन टोलीले बुटवलमा दुध वितरण गर्ने उद्योग, सहकारी र डेरीका १० वटा नमुना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो ।

१० वटा नमुनाको प्रयोगशालामा परीक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपककुमार यादवले जानकारी दिनुभयो । दुधबाट फ्याटको मात्रा झिकिएको वा पानी मिसाएर बेच्ने गरेको पाइएको पनि उहाँले बताउनुभयो । दुधको गुणस्तरमा कमी आएको गुनासो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तीव्रता दिएको छ । बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलमा बिक्रीवितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी व्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्डभन्दा विपरीत पाइए तत्काल कारबाही गर्ने बताउनुभयो । 

अहिले १० वटा डेरीको दुधको नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको र कुनै कैफियत भेटिए तत्काल कारबाही गरिने उहाँले बताउनुभयो ।  उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले दुधको मूल्यमा एकरूपता कायम हुन नसकेको बताउनुभयो । पसलैपिच्छे दुधको मूल्य फरक रहेको उहाँको भनाइ छ ।  

व्यवसायी र उपभोक्तालाई सचेत गराउनका लागि अहिले माइकिङ गरिएको र अनुगमनका क्रममा मापदण्डभन्दा विपरीत दुध बेचेको पाइए तत्काल कारबाही गरिनुपर्ने माग उहाँले राख्नुभयो । उपमहानगरपालिकाले मापदण्डभन्दा विपरीत दुध बेच्नेलाई १० हजार रुपियाँसम्म जरिबाना लिन सक्ने व्यवस्था रहेको जनाएको छ ।