• ११ मंसिर २०८१, मङ्गलबार

मिटरब्याजीबाट जग्गा फिर्ता, गाउँ नै खुसी

blog

शशिधर पराजुली

विराटनगर, साउन २५ गते । विराटनगर–१८, लावाघाटकी ६५ वर्षीय लक्ष्मी साहको मुहारमा आठ वर्षपछि बल्ल खुसी फर्कियो । रुँदारुँदै उहाँको आँसु सुकिसकेको थियो । मुहारबाट खुसी उडेको थियो । पीडा र सङ्घर्षले वृद्ध हुँदै गरेको ज्यान गलिसकेको थियो । अहिले भने गलेको ज्यानमा नयाँ ऊर्जा आएको छ । आठ वर्षसम्म खेपेको दुःख बिसाउन पाएपछि उहाँमा नयाँ जाँगर पलाएको छ । 

लक्ष्मी साहलाई कति बेला घरबाट निकालिनु पर्ने हो भन्ने चिन्ताले रातभर निद्रा पर्दैनथ्यो । विगत पाँच वर्षदेखि लगातार सङ्घर्ष गर्दा पनि कुनै परिणाम आइरहेको थिएन । आफू बस्दै आएको घर र जग्गा सुनील साहको नाममा पास गरिदिएर लक्ष्मीले आठ वर्षअघि एक लाख रुपियाँ कर्जा लिनुभएको थियो । उहाँले आठ वर्षमा नौ लाख रुपियाँ फिर्ता गरिसक्नुभएको थियो तर सुनीलले जग्गा फिर्ता दिने कुरै गर्दैनथे । बरु उल्टै १० लाख रुपियाँ दिन बाँकी देखाउँथे । त्यसले लक्ष्मी र उहाँको परिवार सधैँ तनावमा बाँच्दै आएका थिए । मिटरब्याजीको धाकधम्की र रवाफले कति बेला के हुने हो भन्ने चिन्ताले सताइरहेको हुन्थ्यो तर अहिले त्यो चिन्ता भने हटेको छ । लामो सङ्घर्षपछि मिटरब्याजी सुनील आफूले हडपेको लक्ष्मीको घरजग्गा फिर्ता गर्न सहमत भएका छन् । आफ्नो हातबाट कानुनी रूपमै गुमेको घरजग्गा फिर्ता भएपछि लक्ष्मीको मुहारमा मुस्कान फर्कियो । 

लक्ष्मीको मात्र होइन विराटनगर–१८, लावाघाट दमादिगी बस्तीका अन्य सर्वसाधारणको मुहारमा यस्तै खुसी फर्किएको हो । स्थानीय सुदखोर सुनील साहले दुई वटा गाउँका धेरैको घरजग्गा हडपेर उनीहरूको निद्रा खोसिदिएका थिए । धेरै जना त अहिले पनि सुनीलका विरुद्ध उजुरी गर्न गएका छैनन् तर दुई वर्षअघि ज जसले उजुरी दिए ती परिवारको जग्गा फिर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको पटक पटकको छलफल, स्थानीय सञ्चार माध्यमले गरेको निरन्तरको खबरदारी र पीडित स्वयम्ले गरेको सङ्घर्षका कारण सुनील साह उजुरी दिनेहरू सबैको जग्गा फिर्ता गर्न सहमत भए । यसै साता सबै पीडितले लालपुर्जा प्राप्त गरिसकेका छन् । 

मिटरब्याजविरुद्ध देशभरि आन्दोलन सुरु भएपछि न्याय पाइन्छ कि भन्ने झिनो आशा दमादिगी बस्तीका पीडितमा पनि पलाएको थियो । त्यसपछि सरकारले कानुन बनाएपछि न्यायको आशा बलियो भएको थियो । अहिले त्यही कानुनको आडमा सुनील जग्गा फिर्ता गर्न तयार भएपछि विपन्न पीडितमा खुसीको सीमा छैन । उनीहरूमा सरकारप्रतिको भरोसा पनि बढेको छ । 

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सुनील साह लक्ष्मीसहित विराटनगर–१८, लावाघाटकी ५४ वर्षीय सुमित्रादेवी मण्डल, ५६ वर्षीय श्यामसुन्दर साह, मीनादेवी मण्डल र पुनम मण्डलसहितको जग्गा फिर्ता गर्न सहमत भए । लगतै मालपोत कार्यालयबाट कानुनी प्रव्रिmया पूरा गरी लालपुर्जा बनाएर जग्गा फिर्ता दिइयो । पीडित दिलीप अमातले भने सुनीलसँग रकम लिएर मिलापत्र गर्नुभयो । सँगसँगै सुनीलले सबै पीडितको कपाली तमसुक जिल्ला प्रशासन कार्यालयमै फिर्ता गरिदिए । “साहु (सुनील) ले यति सजिलै हाम्रो सम्पत्ति फिर्ता गर्छन् भन्ने विश्वास थिएन, हामीले कल्पना नै नगरेको काम यस पटक भयो, मिटरब्याजसम्बन्धी कानुन आएकै कारण गुमिसकेको हाम्रो सम्पत्ति फिर्ता भयो, हामीलाई सघाउने तपाईं पत्रकार र सरकार सबैलाई हाम्रो आशीर्वाद छ,” लक्ष्मीले भन्नुभयो । 

यसरी जग्गा फिर्ता पाउनेमध्ये अर्का ५६ वर्षीय श्यामसुन्दर साह पनि जग्गाको लालपुर्जा हातमा परेपछि खुसी हुनुभएको छ । उहाँको पाँच कट्ठा छ धुर जग्गा फिर्ता भयो । एक लाख रुपियाँ कर्जा लिनका लागि सुनीललाई त्यो जग्गा दिनुभएको थियो । अहिलेसम्म सात लाख ७५ हजार रुपियाँ ब्याज तिरिसक्नुभएको थियो । सुनीलले अझै २० लाख रुपियाँ बाँकी छ भन्दै आएका थिए । श्यामसुन्दरले भन्नुभयो “हिजोबाट त्यो झुटको अन्त्य भएको छ । हामीलाई न्याय मिलेको छ ।” श्यामसुन्दर र लक्ष्मीकै जस्तो कथा अरूको पनि छ । 

गरिबी र विपन्नताको चपेटामा पर्दा साहुहरूबाट यसरी ठगिनु त्यो बस्तीको नियति जस्तै छ । अहिले पनि बोल्न नसक्ने दर्जनौँका जग्गा सुनील साहकै पकेटमा छ । न उनीहरू बोल्न सकेका छन् न त सुनीलले फिर्ता दिनु पर्छ भन्ने सोचेका छन् । 

कतिपय पीडित त सुनीलसँग जग्गा फिर्ता लिन सङ्घर्ष गर्दागर्दै परलोकसमेत भइसकेका छन् । केही दिनअघिसम्म सुनीलविरुद्धको सङ्घर्षमा अग्रङ्पक्तिमा देखिनुहुने ५८ वर्षीय महेशलाल मण्डल बुधबार गाउँमा भेटिनुभएन । उहाँ मङ्गलबार मालपोतमा पनि जानुभएको रहेनछ । गाउँमा पुगेर खोज्दा उहाँकी पत्नी सुमित्रादेवी मण्डलले भन्नुभयो, “उहाँ त गइसक्नुभयो ।” महेशलाल बित्नुभएको १४ दिन मात्र भएको रहेछ । २०६८ सालमा एक लाख ६० हजार रुपियाँ कर्जा लिन सुनीललाई दिएको चार कट्ठा जग्गा फिर्ता गर्न चार लाख ४० हजार रुपियाँ ब्याज तिरिसकेको उहाँको परिवारले हालै पहिलोको साँवा बराबरको रकम बुझाएर जग्गा राजीनामा पास गराएको हो ।