पुष्कर भण्डारी
डडेलधुरा, साउन २५ गते । स्थानीय तहको उदयसँगै गाउँघर रित्तो हुन थालेका छन् भने उर्वर भूमि बाँझो बन्जरमा परिणत भएका छन् । त्यसैको प्रभावले गाउँमा पगरी (एक लाइनमा) घर पनि बन्न छाडेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै जानु एकातिर छँदै छ अर्कोतिर गाउँमै भएकालेसमेत परम्परागत शैलीका घर निर्माण छोड्दै गएपछि पगरी शैलीका घर बन्न छोडेका हुन् ।
गाउँको मुख्य पहिचान हुने परम्परागत शैली पगरीमा निर्माण गरिने घर हिजोआज छुट्टाछुट्टै रूपमा निर्माण हुन थालेका छन् । संयुक्त परिवारमा बस्न रुचाउने नेपाली समाज अहिले एकल परिवारमा बस्न थालेपछि पगरी परम्परा लोप हुन थालेको हो ।
सुरक्षालगायत गाउँभरिका गाउँले एकै ठाउँमा बस्ने, कथा, कहानी सुन्ने, सुनाउने, केही समस्या परे सबै गाउँले मिलेर सहयोग गर्ने परम्परा थियो । भागेश्वर गाउँपालिका–४, सतीगाउँका ७४ वर्षीय गणेशदत्त भट्टले भन्नुभयो, “गाउँमा समस्या पर्दा सहयोग गर्ने परम्परा अहिले भए पनि गाउँमा बस्ने कोही छैनन् ।”
उहाँले सहयोग गर्ने माध्यम परिवर्तन भएको अनुभव सुनाउनुभयो । गाउँघरमा ढुङ्गा, माटो र काठको प्रयोग गरेर निर्माण गरिने प्यागोडा शैलीका एकै लाइनमा (पगरी) घर भने निर्माण हुन छाडेको उहाँले बताउनुभयो । गाउँमा बस्ने मान्छे नहँुदा पगरी घरसमेत बाँझै रहेको उहाँले बताउनुभयो । पञ्चायती व्यवस्था हुँदासम्म डडेलधुराका गाउँबस्तीमा बिजुलीबत्ती पुगेको थिएन । अमरगढी नगरपालिका–७, पोखराका ७९ वर्षीय देव भण्डारीले भन्नुुभयो, “त्यसबेला अलिकति पैसा हुनेले मटितेल किनेर लाल्टिन वा टुकी बालेर उज्यालो बनाउँथे ।”
आर्थिक अवस्था कमजोर भएकाहरू सल्लाको झरो निकालेर उज्यालो पार्थे । त्यसबेला गाउँले सबै एकै ठाउँमा बस्ने गर्थे र चोरी, डकैती वा अन्य अपराध एक घरमा हुनेबित्तिकै सबै गाउँले भेला भएर प्रतिकार गर्ने गर्थे तर हाल भने समयको परिवर्तनसँगै पुरानो परम्परा र घर निर्माण गर्ने शैली नै हराएको उहाँले बताउनुभयो । अहिले गाउँ गाउँमा बिजुली पुगिसकेको छ । सुरक्षाका लागि वडा वडामा प्रहरी छन् । सूचना, सञ्चार, मनोरञ्जनका विभिन्न उपकरण छन् । यी कारणले गर्दा गाउँ समाजबाट पुरानो परम्परा र घर निर्माण गर्ने शैली हराउँदै गएको सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्द बोहोराले बताउनुभयो ।
विकास निर्माणका पूर्वाधार बन्दै गएपछि गाउँ समाज परिवर्तन हँुदै गएको उहाँको भनाइ छ । गाउँको परम्परागत शैली हराउँँदै गए पनि सहरबजारमा एक लाइनमा घर भने निर्माण भइरहेको उहाँले बताउनुभयो । २०५६ सालमा माओवादी जनयुद्ध चर्केसँगै गाउँ खाली हुँदै गएका थिए । तत्कालीन विद्रोही पक्ष माओवादी र राज्य पक्ष गरेर दुवै पक्षबाट चरम यातना, कफ्र्यु, ज्यान नै जोखिममा हुने भएपछि गाउँबाट मध्यम वर्गीय सहरबजार पस्दै आएका थिए ।
विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्न लागेसँंगै देशमा सङ्घीयता आएको सात वर्ष पुगेको छ तर पनि बसाइँसराइ भने झनै तीव्र भइरहेको छ । अस्थिर राजनीति र बेरोजगारीका कारण युवा विदेश पलायन भइरहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।