• २४ साउन २०८१, बिहिबार

काभा महिला भलिबल : नेपालको उपाधि यात्रामा भारत बाधक

blog

भारतसँग अङ्क लिएपछि नेपालका खेलाडी ।

काठमाडौँ, साउन २३ गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि भारतले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालमाथि २३–२५, २५–१४, २२–२५, २५–२१, १५–५ को जित निकालेको हो ।

घरेलु कोर्टमा उपाधि चुम्ने नेपालको सपनामा भारत  बाधक बनेको हो । अघिल्ला चार सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल अन्तिम सेटमा स्तब्ध बनेको थियो । नेपालले महिला भलिबलको फाइनलमा भारतलाई हराएर कुनै पनि उपाधि जित्ने मौका पाएको थियो ।

तर भारतले पाँचौँ सेटमा कुनै गल्ती नगरी सहज जित निकाल्यो । यसअघि लिग चरणको खेलमा नेपाले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक थियो । फाइनलमा भारतले नेपालसँग लिग चरणमा खेपेको हारको बदला समेत लियो । 

नेपालले घरेलु कोर्टमा उपाधिको मुखमा पुगेर भारतलाई नतिजा सुम्पिएको यो दोस्रो पटक हो । नेपाल पाँच वर्षअघि १३औँ दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पनि भारतसँग पराजित बन्दै रजतमा चित्त बुझाउन बाध्य भएको थियो । 

नेपालले मङ्गलबार भएको सेमिफाइनल खेलमा इरानलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको थियो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको थियो । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । 

यता भारतले सेमिफाइनलमा  श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। भारतले श्रीलङ्कामाथि २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो । 

पाँच टोली सहभागी प्रतियोगितामा इरान तेस्रो भयो । बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६ , २५–१७ को नतिजा निकालेको थियो । पाँच टोली सहभागी यस प्रतियोगितामा माल्दिभ्स भने लिग चरणका सबै खेलमा हार खेप्दै बाहिरिएको थियो ।