• ९ भदौ २०८१, आइतबार

पाँच जिल्लाका २७ जनामा हैजा पुष्टि

blog

काठमाडौँ, साउन २१ गते । दिसाको माध्यमबाट सर्ने महामारीजन्य रोग हैजा (कोलेरा) पाँच जिल्लामा देखिएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिरामी पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुई साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ । यो सङ्ख्या प्युठानमा थपिएका दुईसमेतको हो । 

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले आइतबार थप दुई जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी उपत्यकाको ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो । यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भएकामा ती व्यक्ति ललितपुरको एक अस्पतालमा कार्यरत रहेकाले भक्तपुर गणना नगरिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाका निर्देशक डा. घिमिरेले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । डा. घिमिरेले भन्नुभयो, “हैजाबाट बच्न खानेपानीमा विशेष सावधानी अपनाउनु पर्छ । त्यसका लागि खानेपानी तथा ढल निकास व्यवस्था विभाग, पानी उद्योगी, खानेपानी उपभोक्ता समिति, सरसफाइसम्बन्धी काम गर्ने सङ्घ संस्थाको दायित्व र भूमिका महत्त्वपूर्ण हुन्छ ।” 

उहाँले गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन सुझाव दिनुभयो । डा. घिमिरेका अनुसार हैजा फैलिएको स्थानमा रोग नियन्त्रण महाशाखाबाट स्वास्थ्यकर्मीको टोली गएर ती स्थानलाई निगरानीमा राखी कुन माध्यमबाट हैजा फैलिएको हो भन्ने अनुसन्धान गरिरहेको छ । 

उहाँले खानेपानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न सुझाव दिनुभयो । यस्तै व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न, दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुन आग्रह गर्नुभयो । 

इपिडिमियोलोजी महामारी शाखा प्रमुख 

डा. मुकेश पौडेलले हैजा महामारीजन्य रोग भएकाले अरूलाई नसार्न बिरामीले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले हैजाका बिरामीलाई हेरचाह गर्ने व्यक्तिले थप सतर्कता अपनाउनुपर्ने बताउनुभयो । हैजा लागेको व्यक्तिले प्रयोग गरेको धारा, पानी, खानेकुरा जस्ता वस्तु अर्को व्यक्तिले प्रयोग गरेमा हैजा सर्ने भएकाले बिरामीको हेरचाह गर्ने व्यक्तिले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

हैजा दिसाबाट सर्ने भएकाले दिसा गरिसकेपछि राम्रोसँग हात धुनुपर्ने जस्ता जनचेतना जनस्तरमा पुग्नुपर्ने उहाँको भनाइ छ । भिब्रियो कोलेरा नामक कीटाणुले गर्दा हैजाको सङ्क्रमण हुने र यो दिसाको माध्यमबाट सर्ने भएकाले बाढी मिसिएको पानी प्रयोग नगर्न सुझाव दिनुभयो । 

काठमाडौँ उपत्यकामा खानेपानीको स्रोतमा ढलको पानी मिसिएर हैजाको प्रकोप फैलिएको छ । डा. पौडेलले हैजा लागेको व्यक्तिले प्रयोग गर्ने धारा प्रयोग गरेमा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युबवेलको पानी प्रयोग गरेमा, हैजा भएको व्यक्तिको संसर्गमा रहेमा हैजा फैलने बताउनुभयो । उहाँले हैजा दूषित पानीका माध्यमबाट सर्ने भन्दै बासी खानेकुरा, नपकाएको खानेकुरा खाँदा, सङ्क्रमित व्यक्तिले हात नधोई सरसामान छोएमा हैजा सर्ने बताउनुभयो । हैजा हुँदा पानीजस्तो पातलो दिसा आउने, वान्ता हुने जस्ता लक्षण देखिन्छन् ।  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।