• २ माघ २०८१, बुधबार

दोलखाली नागरिकको हितमा काम गर्छु : मन्त्री काफ्ले

blog

सुजन काफ्ले

चरीकोट, साउन २० गते । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले दोलखाली नागरिकको हितमा काम गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काफ्लेले सो कुरा बताउनुभएको हो । 

दोलखालीको मतको सदुपयोग भएको बताउँदै काफ्लेले मतको दुरुपयोग हुन नदिने बताउनुभयो । उहाँले जिल्लाका विभिन्न समस्यालाई सम्बोधन गर्दै अगाडि बढ्ने बताउनुभएको छ । मन्त्री काफ्लेले प्रदेश सरकारले विकास निर्माणका काम प्राथमिकता साथ अगाडि बढाउने बताउनुभयो ।

मन्त्री काफ्लेले प्रदेश सरकारलाई विकासे अड्डाका रूपमा मात्रै हेर्न खोजिएको बताउनुभएको छ । संविधानले व्याख्या गरेको प्रदेश सरकारलाई सङ्घीयतामा सरकारकै भूमिकामा अघि बढाउनुपर्नेमा विकासे अड्डाका रूपमा अर्थ्याउन खोजेको बताउँदै मन्त्री काफ्लेले आफूहरूकै पालामा प्रदेश सरकार सरकारकै रूपमा स्थापित गर्दै सहज सेवा प्रवाहमा तल्लीन हुने बताउनुभयो । उहाँले प्रदेश सरकारसँग प्रभावकारी संरचना नभएका कारण पनि आम जनमानसमा प्रदेश सरकारप्रति वितृष्णा छाएको भन्दै उक्त वितृष्णा चिरेर प्रदेश सरकारलाई नागरिकमाझ लोकप्रिय बनाउन वर्तमान सरकार दृढतापूर्वक लाग्ने बताउनुभयो। 

प्रदेश सरकारको सेवा प्रवाहलाई सुधार गरी सरकारकै रूपमा चलाउने गरी वर्तमान प्रदेश सरकार सक्रिय रहेको उहाँले बताउनुभयो । सङ्घीयताको मर्म अनुसार प्रदेश संरचना भनेको घर आँगनको सरकार रहेको बताउँदै उहाँले तर प्रदेशहरू विकास बाँड्ने अड्डा जस्ता मात्रै भए, अब यो सुधार आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले झण्डै ३० वर्षपछि दोलखा कांग्रेसले मन्त्री प्राप्त गरेको सुनाउँदै जनताको मन जित्ने गरी कार्यसम्पादन गर्न मन्त्री काफ्लेलाई आग्रह गर्नुभएको थियो ।

आइतबार नै जिल्ला कार्यालय प्रमुखहरू सँगको छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले कार्यालय प्रमुखहरू लाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो । जनप्रतिनिधि र कर्मचारी र मिलेर नै जिल्लाको विकास हुने भएकाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । गणतन्त्रमा आफ्नो काम नगर्ने छुट नभएको बताउँदै उहाँले पदमा रहँदा  जिम्मेवारी भएर जनताको सेवामा लाग्न निर्देशन दिनुभयो ।

मन्त्री काफ्लेले मुलुकका सबै प्रदेशहरू सङ्घीयताको अभ्यासमै रहेकाले प्रभावकारी ढङ्गले काम गर्न प्रदेश सरकारहरू क्रियाशील हुनुपर्ने बताउनुभयो । "प्रदेश सरकारले डेलिभरी दिन सकेन भनेर आम गुनासो रहेका बेलामा मन्त्री बनेको छु," उहाँले भन्नुभयो, "प्रदेशहरू प्रति नागरिकले गर्व गर्ने गरी काम गर्छौँ ।" मन्त्री काफ्लेले दोलखाको विकासका लागि आफू सक्रिय रहिरहने प्रतिबद्धता जनाउनुभयो।

मन्त्री नियुक्त हुनुभएपछि पहिलो पटक गृह जिल्ला दोलखा आइपुग्नुभएका काफ्लेलाई स्थानीयहरूले बाजागाजा सहित भव्य स्वागत गरेका थिए । करिब ३० वर्षपछि नेपाली कांग्रेसको तर्फबाट काफ्ले मन्त्री हुनुभएको हो ।

२०५१ सालमा कांग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङ कानुनमन्त्री भएपछि दोलखाबाट प्रतिनिधित्व गर्ने दोस्रो मन्त्री काफ्ले हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट उदाएका काफ्ले नेपाल विद्यार्थी सङ्घको महामन्त्री हुँदै १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । गएको सङ्घ र प्रदेशको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार नर बहादुर श्रेष्ठलाई हराउँदै दोलखा प्रदेश सभा क बाट काफ्ले निर्वाचित हुनुभएको थियो । मन्त्री काफ्लेको केहीदिन दोलखा बस्ने कार्यक्रम छ ।