• ११ पुस २०८१, बिहिबार

कांग्रेस नेता शाह दोस्रो पटक मुख्यमन्त्री बन्दै

blog

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री पदका लागि दावेदारी प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह ।

प्रकाशविक्रम शाह

धनगढी, साउन २० गते । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गर्नुभएको छ । 

उहाँले कांग्रेस र नेकपा (एमाले) का प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गर्नु भएको हो । शाहको पक्षमा कांग्रेसको १८ र एमालेको ११ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्री दाबी गर्न २७ जनाको समर्थन आवश्यक पर्नेमा उहाँलाई २९ जनाको समर्थन छ । 

आज साँझ ५ बजेपछि उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । शाह प्रदेश सभाको यही कार्यकालमा दुई पटक मुख्यमन्त्री बन्नु हुने भएको छ । यसअघि उहाँले १४ महिना सरकार चलाउनु भएको थियो । उहाँ सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री हुँदै हुनुहुन्छ । 

नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि उहाँ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री हुनु हुने भएको छ । प्रदेश प्रमुख मियाँले आज आइतबार साँझ ५ बजेसम्मको समयसम्म मुख्यमन्त्रीमा दावेदारी गर्न समयसीमा दिनु भएको थियो ।