• २० साउन २०८१, आइतबार

लक्ष्य पूरा भइसकेको छैन : कप्तान शाही

blog

भारतविरुद्ध अङ्क बटुलेपछि नेपालका खेलाडी ।

काठमाडौँ, साउन १९ गते । नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जितमा नै आफ्नो टोली सीमित नरहने बताउनुभएको छ । काभा महिला भलिबल नेसन्स लिगमा शनिबार भारतमाथि ३–२ को ऐतिहासिक जित निकालेपछि कप्तान शाहीले उक्त भनाई राख्नुभएको हो । 

भारतविरुद्ध पहिलो पटक जित निकाल्नु खुशीको क्षण रहेपनि हाम्रो लक्ष्य अझै बाँकी छ । लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने छौँ । समूहचरणका खेल बाँकी रहेको अबको लक्ष्य इरान जस्तो बलियो टोलीलाई हराउनु हुनेछ,’’ शाहीले भन्नुभयो । 

उहाँले जितबाट धेरै उत्साहित नभई सेमिफाइनल र फाइनलतर्फ ध्यान दिने पनि बताउनुभयो । भारतसँग राम्रो सुरुवात गरेपनि बिचमा लय गुम्दा खेलमा फर्कन गाह्रो भएको बताउनुभयो । 

यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले सन् २०१६ पछि नेपाली महिला भलिबलको स्तर क्रमशः वृद्धि भइरहेको प्रतिक्रिया दिनुभयो । ‘भारतविरुद्ध पछिल्लो पटक कडा प्रतिस्पर्धा हुँदै आएपनि जित्न सकेका थिएनौँ । आज राम्रो खेल्दै इतिहास रचेका छौँ । अब बलियो टोली इरानविरुद्ध खेल्न बाँकी छ । हामी आगामी खेलमा राम्रो गर्दै उपाधिका लागि अगापडि बढ्नेछौँ,’’ भट्टले भन्नुभयो । 

भारतीय टोलीका प्रशिक्षक जाई नारिनले सुरुवातको सेट गुमाए पनि आफ्नो टोलीले फाइट ब्याक गरेको बताउनुभयो । ‘‘निर्णायक सेटमा सातो गल्ती हुँदा खेल गुमाउन पुग्यौँ । हामी आगामी खेलमा सुधारिएको प्रदर्शन गर्दै फाइनलमा चुनौती दिनेछौँ,’’ नारिनले भन्नुभयो । भारतीय टोलीकी कप्तान अनुश्रीले नेपाललाई फाइनलमा हराउने अर्को अवसर पनि रहेको बताउनुभयो ।