• १९ साउन २०८१, शनिबार

नेपालको महिला टोलीलाई काभा बिच भलिबल उपाधि

blog

उपाधि विजेता नोपालकी कमला पुन र मनिषा चौधरी ।

काठमाडौँ, साउन १९ गते । नेपालको महिला टोलीले काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

भुटानको थिम्पुमा शनिबार भएको फाइनलमा नेपालको महिला टोलीले उज्वेकिस्तानलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । नेपालकी कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानमाथि २१–१७, २१–१४ को जित निकालेको थियो ।

पहिलो पटक महिला काभा बिच भलिबल जितेको यो नेपालको ऐतिहासिक स्वर्ण हो । नेपालले यसअघि दुई वर्षअघि बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा महिला रपुरुष दुवै टोलीले रजत पदक जितेको थियो ।

यसैगरी भुटानमै शनिबार भएको पुरुष काभा बिच भलिबलको फाइनलमा नेपाल माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भएको छ । नेपालका कप्तान मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले माल्दिभ्ससँग २१–१९, २१–१७ को जित निकालेको हो । फाइनलमा माल्दिभ्सलाई कडा टक्कर दिएपनि नेपाल रजतमा सिमित बन्यो ।

यस च्याम्पियनसिपमा महिलामा सात र पुरुषमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानको सहभागिता रहेको थियो । नेपाल बाहेक सबै देशबाट दुई टोलीको सहभागिता रहेको थियो । यस्तै पुरुषमा नेपालसहित माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र आयोजक भुटानले प्रतिस्पर्धा गरेका थिए ।