काठमाडौँ, साउन १९ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी चाँडो दिइने बताउनुभएको छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री दाहालले निर्माण व्यवसायीहरूको भुक्तानी छिटोभन्दा छिटो दिइने बताउनुभएको हो ।
उहाँले काम गर्ने तर भुक्तानी नपाउने अवस्था हुनुहुने भन्दै काम सकेर बिल फर्छ्यौट गरिसकेकाहरूले भुक्तानी पाउनुपर्ने बताउनुभयो ।
उहाँले मन्त्रालयले भुक्तानी दिनुपर्नेहरुको विवरण सङ्कलन गरिरहेको भन्दै विवरण प्राप्त भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीलाई रिपोर्ट गरेपछि भुक्तानी दिइने बताउनुभयो । उहाँले जति छिटो विवरण सङ्कलन हुन्छ त्यति नै छिटो निर्माण व्यवसायीले भुक्तानी पाउने बताउनुभयो ।
‘‘निर्माण व्यवसायीहरूको भुक्तानीको अवस्था भनेको हाम्रो मन्त्रालयमै बढी छ । हाम्रो मन्त्रालयमा जम्मा दिनुपर्ने मध्ये ६० प्रतिशत हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । त्यसकारण यसलाई हामीले गम्भीर ढङ्गले लिएका छौँ । काम गर्ने तर भुक्तानी नपाउने यो हुनुहुँदैन । काम नगर्नेका लागि त्यही किसिमको ट्रिटमेन्ट हुनुपर्यो । काम गर्नेहरूले, सबै बिल फर्स्यौट गरिसकेकाहरूले भुक्तानी पाउनुपर्यो ।,’’ मन्त्री दाहालले भन्नुभयो, ‘‘ त्यसकारण हामीले अहिले त्यसको विवरण लिँदैछौँ । विवरण प्राप्त भइसकेपछि हामी अर्थ मन्त्रालयमा रिपोर्ट गर्छौँ । प्रधानमन्त्रीलाई पनि रिपोर्ट गर्छौँ । त्यस पछाडि वास्तविक भुक्तानी दिनुपर्ने कति रहेछ ? पहिलो चरणमा कति दिनुपर्ने रहेछ भन्ने पत्ता लगाइसकेपछि उहाँहरूको हामी भुक्तानी दिन्छौँ । एकदम छिटोभन्दा छिटो जति छिटो तलबाट वास्तविक रिपोर्ट आउँछ, त्यति छिटो उहाँहरूले भुक्तानी पाउनुहुन्छ ।’’
मन्त्री दाहालले विगतको सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई वर्तमान सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो । उहाँले आफूहरू पनि विगतको सरकारमा रहेको र आफूहरूले नै पारित गरेको बजेट भएकाले कार्यान्वयनमा जाँदा धेरै हेरफेर नहुने बताउनुभयो । उहाँले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको आयोजनाहरुपनि सय प्रतिशत कार्यान्वयन गराउन लाग्ने बताउनुभयो । उहाँले सबै कार्यान्वयन नभए ९० प्रतिशतभन्दा बढी कार्यान्वयन गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
‘‘गठबन्धन फेरिएको छ । यो गठबन्धन जुन बनेको छ, यसले स्थिरता दिन्छ भन्ने जनतालाई आशा पनि जागेको छ । विकास निर्माणका कामहरू तीव्र ढङ्गले हुन्छन् भन्ने आशा पनि जागेको छ । त्यसकारण त्यस्तो धेरै ठुलो परिवर्तन हुँदैन । तर पनि केही केही कुराहरू पुनर्विचार गर्ने भयो सरकारले भने, हिजो हामी त्यही गठबन्धनमा थियौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘हामीले नै पारित गरेको बजेट भएको कारणले गर्दा स्वाभाविक रूपमा ठुलो परिवर्तन हुँदैन । जति आयोजनाहरू छन्, त्यसलाई हामीले भरसक सय प्रतिशत कार्यान्वयन गर्नेगरी लाग्छौँ । भएन भनेपनि ९० प्रतिशतभन्दा बढी कार्यान्वयन गर्नसक्छौँ भन्ने हामीलाई विश्वास छ ।’’
उहाँले कानुनी अड्चन, वन र क्षतिपूर्ति लगायतका समस्याका कारण भौतिक संरचनाहरू निर्माणमा ढिलाइ हुने गरेको बताउनुभयो । उहाँले निर्माण सम्पन्न हुन ढिलाइ भएका आयोजनाहरूको सम्बन्धमा अध्ययन गर्न समिति बनाउने र समितिको प्रतिवेदनको आधारमा समस्याहरू समाधान गर्ने बताउनुभयो । उहाँले एक वर्षभित्र परिणाम दिनेगरी काम गर्ने पनि बताउनुभयो ।