• १९ साउन २०८१, शनिबार

छुरा आक्रमणलाई लिएर इङ्ल्याण्डको अर्को सहरमा हुलदङ्गा

blog

लण्डन, साउन १९ गते । उत्तरपूर्वी इङ्ल्याण्डकोे सन्डरल्याण्डमा शुक्रबार साँझ भएको हुलदङ्गामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले बताएको छ ।

यस हप्ताको सुरुमा भएको सामूहिक छुरा प्रहारको घटनालाई लिएर यो हुलदङ्गा भएको हो ।

घण्टौँको हुलदङ्गापछि आठ जनालाई पक्राउ गरिएको र तीन अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको नर्थम्ब्रिया प्रहरी वरिष्ठ उपरीक्षक हेलेना ब्यानरले बताउनुभयो ।

बिबिसीले प्रसारण गरेको फुटेजमा सन्डरल्याण्डमको सिटी सेन्टरमा सयौँको भीडले प्रहरीमाथि आक्रमण गरेको र एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको देखाइएको छ ।

“हामीले आज साँझ सन्डरल्यान्डमा देखेका स्तब्धकारी दृश्यहरू पूर्ण रूपमा अस्वीकार्य छन्”, ब्यानरले भन्नुभयो । “अव्यवस्था, हिंसा र क्षति सहन गरिने छैन ।”

“पक्राउ परेका आठ जनाबाहेक अन्य संलग्न व्यक्तिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो । 

त्यहाँ भएका घटनाको जवाफमा आन्तरिक मन्त्री यभेट कुपरले दङ्गाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताउनुभयो । “उनीहरूले बेलायतको प्रतिनिधित्व गर्दैनन्”, कुपरले भन्नुभयो ।

यसअघि, लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारीहरू तैनाथ गरिएको मर्सीसाइड प्रहरीले बताएको थियो ।

प्रधानमन्त्री कीर स्टारमरले हिंसात्मक कार्यहरू गर्ने जो कोहीलाई कानुनको दायराभित्र ल्याउने वाचा गर्नुभएको छ । रासस/एएफपी