• १९ साउन २०८१, शनिबार

जीर्ण काठका पोलले जोखिम बढ्दै

blog

जीण बनेको काठको पोल । फाइल तस्बिर

बाबुराम देवकोटा
सिन्धुलीमाढी, साउन १९ गते । 
सिन्धुली जिल्लामा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तारका क्रममा गाडिएका जीर्ण बनेका काठको पोल नहटाउँदा जोखिम बढ्दै गएको छ ।

विद्युत विस्तारका क्रममा वर्षौँ अघि नेपाल विद्युत प्राधिकरणले गाडेका काठका पोल यतिखेर कुहिएर, मकिएर र धमिराले खाएर जीर्ण बनी ढल्ने अवस्थामा पुग्दा जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।

कमलामाई नगरपालिका–४ मल्लागाउ निवासी केदार अधिकारी आफ्नो घरको आँगन अगाडि बिपी राजमार्गको छेउमा विद्युत विस्तारका क्रममा १० वर्षअघि गाडेको काठको पोल हटाउन नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रलाई पटक÷पटक भन्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘कति पटक भन्नु, मुख नै दुःखी सक्यो । पोल जीर्ण बनी ढल्ने अवस्थामा पुगेको छ । कतिखेर दुर्घटना व्यहोर्नु पर्ने हो । काठको पोल हटाएर फलामको पोल गाडी दिए सधैँलाई ढुक्क हुने थियो ।’’

नेपाल विद्युत प्राधिकरणले जिल्लाका ग्रामीण क्षेत्रमा समेत फलाम र सिमेन्टको पोलको अभावमा सुरुका वर्षमा काठको पोल गाडेर विद्युत विस्तार गरेको स्थानीय बासिन्दा बत्ताउँछन् । जिल्लाका नौ वटा स्थानीय तहको अधिकांश ठाउँमा यो वर्षसम्म राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तार भएको छ ।

जिल्लाको सुगम ठाउँभन्दा दुर्गम ठाउँमा काठको पोल प्रयोग गरी विद्युत विस्तार कार्य भएको स्थानीय बत्ताउँछन् । स्थानीय तह गठन अघि तत्कालीन समयमा गाविस र जिविसले समेत बजेट लगानी गरी काठको पोल खरिद गरी विद्युत विस्तार गरेकाले यतिखेर समस्या आएको कमलामाई नगरपालिका–३ का पूर्वजनप्रतिनिधि (गाविस अध्यक्ष) राजन अधिकारी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘त्यति बेला उपभोक्ताको माग विद्युत विस्तार पहिलो प्राथमिकता थियो । हामीले पनि त्यही अनुसार काम गर्‍यौँ र बत्ती बाल्ने काम भयो । अहिले तिनै काठको पोल समस्या बनेर आएको छ । नेपाल विद्युत प्राधिकरणले क्रमशः हटाउँदै पनि गएको देखिन्छ ।’’

नेपाल विद्युत प्राधिकरणका अनुसार जिल्लाका विभिन्न भागमा गरी यतिखेर दुई हजार ७९० वटा काठको पोल फेर्न बाँकी छ । गत आर्थिक वर्ष ०८०/०८१ मा विभिन्न ठाउँमा ७१० थान काठको पोल विस्थापित गरी फलामको पोल गाडिएको छ । केन्द्रका सूचना अधिकारी तथा इन्जिनियर शत्रुध्न साह गत आर्थिक वर्षमा काठको पोल हटाई फलामको पोल गाड्न डेढ करोड बजेट माग गरिएकोमा त्यति बजेट नआएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘पहिले फलामे पोल पर्याप्त आउँदैनथ्यो । टिम्बर कर्पोरेसन हुँदा ट्रिटमेन्ट गरेको काठको पोल आउँथ्यो । त्या अरू काठको पोलभन्दा दह्रो हुन्थ्यो । अहिले त्यो संस्था छैन । जस्तो पायो, उस्तै काठको पोल गाड्दा समस्या भएको छ ।’’ अहिले नेपाल विद्युत प्राधिकरणले काठका पोललाई क्रमशः हटाउँदै गएको उहाँको भनाइ छ ।

जिल्लाका ग्रामीण क्षेत्रबाट अझै काठका पोल विस्थापित हुन सकेको छैन । काठका पोल धराप हुँदा समेत त्यसलाई फेर्न नसकिएको अवस्था छ । जिल्ला भरिमा यो वर्षसम्म कुल ग्राहक सङ्ख्या ५८ हजार ५४९ रहेको केन्द्रले जनाएको छ ।