• १९ साउन २०८१, शनिबार

चट्याङले अवरुद्ध विद्युत ट्रान्सफरमर मर्मतपछि सञ्चालन

blog

खोटाङ, साउन १९ गते । चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीमा अवरुद्ध बनेको विद्युत चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेपछि सञ्चालनमा ल्याइएको छ । यही साउन १५ गते वर्षासँगै परेको चट्याङले जलेको ट्रान्सफरमर जलेर विद्युत आपूर्ति बन्द भएको थियो । 

उक्त स्थानमा नयाँ ट्रान्सफरमर जडान गरेपछि गए रातिदेखि विद्युत् सञ्चालनमा आएको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । खार्मीस्थित सोतीमा रहेको ट्रान्सफरमर जलपछि सोती, फुलबिसौना, डढेली र खत्रीगाउँका ९० घरमा विद्युत आपूर्ति बन्द भएको केन्द्रका प्रमुख सोवितबहादुर क्षत्रीले जानकारी दिनुभयो । अवरुद्ध विद्युत सञ्चालनका लागि उपभोक्ताले प्रतिघर एक सय २५ का दरले रकम सङ्कलन गरेर १० हजारमा ट्रान्सफरमर ढुवानी गरिएको स्थानीय हर्कराज राईले बताउनुभयो । 

“उपभोक्ताले महसुल तिरेपछि बिग्रिएको ठाउँमा प्राधिकरणले निःशुल्क मर्मत गर्नुपर्छ । अहिले उपभोक्ताले रकम सङ्कलन गरी ट्रान्सफरमर ढुवानी गर्न प्राविकरणलाई सहयोग गरेका छौँ”, राईले भन्नुभयो, “दिक्तेलस्थित प्राधिकरणको कार्यालयबाट ढुवानी गरिएको ट्रान्सफरमर प्राधिकरणका प्राविधिक आएर जडान गरेका हुन् ।” ट्रान्सफरमर जलेर विद्युत सेवाबाट वञ्चित यहाँका उपभोक्ताले मर्मत गर्न खर्च आफैँले व्यवस्थापन गर्नुपरेपछि आगामी दिनमा यस्ता समस्या आएमा प्राधिकरणसँग समन्वय गर्न विद्युत मर्मत तथा व्यवस्थापन समिति निर्माण गरेका छन् । 

अवरुद्ध भएको समयमा प्राधिकरणलाई खबर गर्न तथा भैपरी आउने सामान्य खर्च सामूहिकरुपमा उपलब्ध गराउनेगरी स्थानीय वीर्खबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । साउन १५ गते परेको चट्याङले खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युतको ट्रान्सफरमर जलेको थियो । ट्रान्सफरमर मर्मत नहुँदा सो क्षेत्रका स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा यसअघि पटकपटक विद्युत अवरुद्ध हुँदै आएको थियो । 

लामो समयदेखि अवरुद्ध हुँदै आएको विद्युत प्राधिकरणले समयमा मर्मत नगर्दा उपभोक्तालाई सास्ती भइरहेको स्थानीय राईले बताउनुभयो । जिल्लामा सञ्चालन गरिएको विद्युत छिनछिनमा आउने÷जाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँ ठाउँमा पहिरो जाने समस्याले पटक पटक विद्युत अवरुद्ध हुने गरेको विद्युत प्राधिकरणले जनाएको छ । 

ट्रान्सफरमर जलेर अवरुद्ध भएका स्थानमा नियमित विद्युत सञ्चालनमा ल्याउन प्राधिकरणले पहल गरिरहेको वितरण केन्द्रका प्रमुख क्षत्रीले बताउनुभयो । “चट्याङले जलेको ठाउँमा नयाँ ट्रान्सफरमर जडान गरेपछि मात्र विद्युत सञ्चालन गर्न सकिन्छ । खार्मीमा उपभोक्ता आफैँले ढुवानी गरेर काम सहज बनाइदिनुभयो । ढुवानीबापतको रकम प्राधिकरणले उपलब्ध गराउँछ,” उहाँले भन्नुभयो, “बाहुनीडाँडा र निर्मलीडाँडामा प्राविधिक टोलीसहित ट्रान्सफरमर पठाइसकेका छौँ । सम्भवतः आज बेलुकासम्ममा नियमित विद्युत् सञ्चालन हुन्छ ।”

पछिल्लो समय ३३ केभी क्षमताको केन्द्रीय प्रशारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युत्मा समस्या आएको दिक्तेल वितरण केन्द्रका प्रमुख क्षत्रीले बताउनुभयो । वर्षातको समयमा विद्युत अवरुद्ध नहोस् भनेर प्रसारण लाइन वरपर सरसफाइ गरी व्यवस्थापकीय काम थालिएको उहाँले उल्लेख गर्नुभयो । वि.सं.२०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उदघाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् जिल्लाका सबै स्थानीय तहमा पुगेको पुगेको छ ।

वर्षातको समयमा अवरुद्ध भएको विद्युत पुनः सञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्म लगाउने गरेको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुसम्म विस्तार गरिएको छ । रासस