• १९ साउन २०८१, शनिबार

पैदल यात्रुलाई जनचेतना जगाउँदै ट्राफिक प्रहरी

blog

सडकमा विद्यार्थी र पैदल यात्रुलाई ट्राफिक नियमबारे जनचेतना जगाउदै ट्राफिक प्रहरी । तस्बिर: राजन रावत

राजन रावत
हुम्ला, साउन १९ गते । 
ट्राफिक प्रहरीले सडकमै राखेर पैदल यात्रु र विद्यार्थीहरूलाई जनचेतना जगाउँदै कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना कम गराउन र पैदल यात्रुहरूलाई ट्राफिक नियमबारे अभिमुखीकरण गर्न नेपाल विद्यार्थी सङ्घले सो कार्यक्रमको सञ्चालन गरेको हो ।

ट्राफिक प्रहरी हबल्दार चन्द्रबहादुर डाँगीले विद्यालयका विद्यार्थीहरू र अन्य पैदल यात्रुलाई सडकमै राखेर ट्राफिक नियमका साथै जेब्राक्रसिङबारे जानकारी दिने कार्य गर्नुभयो । सबैलाई ट्राफिक नियमबारे जानकारी नभएका कारण त्यसबारे जनचेतना जोगाउनु आवश्यक रहेको बेला नेविसंघले यो कार्यक्रम आयोजना गरेको हो ।

नेविसंघ केन्द्रीय सदस्य नरबहादुर भण्डारीले कसरी जेब्राक्रस गर्ने र यसका फाइदाबारे पनि जानकारी दिने कार्य ट्राफिक प्रहरीबाट भएको बताउनुभयो  । यसैगरी, कार्यक्रममा गाडीमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने नियमबारे पनि जानकारी गरिएको थियो । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा यातायातका साधनहरू गुड्ने क्रम बाक्लिँदै गएको बेला ट्राफिक नियमबारे जानकारी दिन आवश्यक रहेको छ ।

सो कार्यक्रममा विद्यार्थी र पैदल यात्रुहरूले राखेको जिज्ञासाको जवाफ ट्राफिक हबल्दार डाँगीले दिनुभयो । कार्यक्रमका कांग्रेस कावा सभापति कैलाश भण्डारी, उपसभापति वसन्त रोकाया, सचिव कृष्णबहादुर बोहरा, कोषाध्यक्ष बबीता शाही लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो ।