• १९ साउन २०८१, शनिबार

खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

blog

लीलाधर वली

घोराही, साउन १९ गते । दाङमा खोलाले अटो बगाउँदा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । जिल्लाको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत  कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाउँदा दुई जना बेपत्ता हुनुभएको थियो । 

तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ६ ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर उपमहानगरपालिका –४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता हुनुभएका दुईजनामध्ये तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आलेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार करिब १२ किलोमिटर दक्षिणतर्फ हरिपौरास्थित खोलाको ढिकमा शव भेटिएको हो । सुर्खेत घरभई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का अझै बेपत्ता हुनुहुन्छ । अटोमा सवार पाँच जनामध्ये प्रहरीले राति नै अटोचालक हरिकिसान विक, यात्रु सुनिता थापा र सुशान्त आलेलाई उद्धार गरेको थियो । 

त्यसैगरी घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ । बाढीले बगाएको तुलसीपुर –७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति उद्धार गरिएको प्रहरी नायव उपरीक्षक तिमल्सिेनाले जानकारी दिनुभएको छ । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो ।