• १९ साउन २०८१, शनिबार

पहिरोमा पुरिएका रमेशको सब फेला

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १९ गते । उत्तरी गोरखामा पहिरोमा पुरिएका एक जनाको सब फेला परेको छ । फेला परेको सब आरुघाट गाउँपालिका–८ लामागाउँका २४ वर्षीय रमेश परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार धार्चे गाउँपालिका–५ सिङला स्थित रेसेगाउँमा सोमबार पहिरोले पुरिएको एकै घरका ३ सहित ४ जनालाई पहिरोमा पुरिएको अवस्थामा मृत अवस्थामा फेला पारिएको थियो भने पहिरोमा परी बेपत्ता रमेश परियारलाई पहिरो गएको ६ दिन पछि शुक्रबार दिउँसो ३: ४५ मा पहिरो गएको रेसेगाउँभन्दा दुई किलोमिटर तल रेसा खोलामा सब फेला पारिएको उहाँले बताउनुभयो ।

पहिरोमा पुरिएर मृत अवस्थामा फेला परेका कृषि फार्म सञ्चालक ३४ वर्षीय जीत बहादुर गुरुङ, उहाँका श्रीमती ३५ वर्षीया कान्छी माया गुरुङ, ६० वर्षीय बुबा सुलाल कान्छा गुरुङ र कृषि फार्ममा काम गर्ने  ३४ वर्षीय रमेश गुरुङको मङ्गलबार नै जातीय संस्कार अनुसार दाहसंस्कार भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पहिरो परी बेपत्ता भएकाहरूको खोजी गर्न नेपाली सेना, नेपाल प्रहरी, स्थानीय र जनप्रतिनिधि सहितको टोलीले आइतबार बिहान १० बजे देखि शुक्रबार ६ दिन सम्म निरन्तर खोजी कार्य गर्दा पहिरोमा पुरिएका सबै ५ जनाको सब फेला परेको प्रहरीको भनाई छ ।  

एकै गाउँका ५ जना पहिरोमा पुरिएर मृत अवस्थामा फेला परेपछि रेसे गाउँ नै शोकमा परेको छ । जीत बहादुर गुरुङको कृषि फार्ममा रहेको बाख्रा, कुखुरा, बङ्गुर र बुलेट बाइक साथै एक घर समेत पहिरोले बगाएको छ ।