• १० मंसिर २०८१, सोमबार

हैजाको रोकथाम : पानीमा निर्भर

blog

काठमाडौँ, ललितपुर र कैलाली जिल्लाका केही स्थानमा देखा परिरहेको हैजाको छिटो रोकथाम र फैलावट रोक्न आवश्यक छ । हैजा एक सङ्क्रामक सरुवा रोग हो । यसको चिकित्सकीय उपचारभन्दा रोकथाम र नियन्त्रण प्रभावकारी हुने चिकित्सा विज्ञानबाट प्रमाणित भइसकेको छ । हैजाका सङ्क्रमित बिरामीको दिशामार्फत पानी वा अन्य खानेकुरा प्रदूषित हुँदा यो रोग एक अर्कोमा सर्छ । मानिसमा रोगको सङ्क्रमण भइसकेपछि कडा प्रकारको पखाला लाग्ने, वाक्वाकी र वान्ता हुने, ज्वरो आउने र शरीरबाट धेरै मात्रामा पानी निस्कनाले कडा किसिमको जलवियोजन हुन्छ । कडा जलवियोजनको कारणले बिरामीको समयमा उचित उपचार हुन नसकेमा मृत्यु हुन्छ । 

हैजाका बिरामीमा कडा जलवियोजन भएमा जिब्रो, मुख र घाँटी सुक्खा हुने, आँखा धस्सिने, छालाको लचकता बढ्ने, पिसाब पहेलोका साथै कम हुने, शरीरमा पानीको मात्रा कम हुँदै गएमा रक्तचाप कम भई बिरामी बेहोस हुन्छ । बेहोस भइसकेपछि बिरामीको स्वास्थ्य संस्थामा उपचार गर्नु पर्छ । उचित उपचार हुन नसकेमा बिरामीको मृत्यु हुन सक्छ । प्रदूषित खानेपानीका कारण यो रोग सुरु हुने र फैलिने भएकाले नागरिकले उपभोग गर्ने पानीलाई वितरक निकायले शुद्ध रूपमा उपलब्ध गराउन आवश्यक छ । यसरी वितरित पानी हानिकारक कीटाणु र रासायनिक पदार्थरहित छ, छैन भनी नियमित पानीको नमुनाको परीक्षण गरी शुद्ध खानेपानी मात्र उपभोक्तासमक्ष पु¥याउनु पर्छ । 

राष्ट्रिय खानेपानी गुणस्तर सर्भिलेन्स निर्देशिका २०७०, अनुसार खानेपानी वितरक निकायले वितरण गरेको पानीको नमुना नियमित रूपमा गुणस्तर परीक्षण गरी सम्बन्धित निकायलाई सुसूचित गराउने कार्य सम्बन्धित स्वास्थ्य संस्थाको हो । 

शुद्ध पानी र सफा खानेकुराको प्रयोग, व्यक्तिगत सरसफाइ, मलमूत्र र फोहोरको उचित व्यवस्थापन गर्न सके हैजा लाग्नबाट बच्न सकिन्छ । यति गर्दा गर्दै पनि कसैलाई हैजा लागेमा रोगले समुदायका अधिकांश व्यक्तिलाई प्रभावित गरी महामारीका रूपमा परिणत हुन सक्छ । तसर्थ, समुदायमा एक दुई जना बिरामीको शङ्का हुनेबित्तिकै समयमै निदान वा पहिचान गर्न आवश्यक छ । स्वास्थ्यकर्मीबाट जति सको छिटो रोगको निदान गर्न दुई किसिमको प्रक्रिया अवलम्बन गर्नु पर्छ । 

पहिलो, कुनै व्यक्तिलाई अचानक पातलो वा चौलानी जस्तो दिशा लाग्ने, ज्वरो आउने र छोटो समयमा कडा जलवियोजनको अवस्था देखा परेमा त्यसलाई हैजाको प्रकोप मानेर तुरुन्त उपचार सुरु गर्नु पर्छ । हैजा हो, होइन निश्चित गर्न प्रयोगशाला परीक्षणको प्रक्रिया अगाडि बढाउनु पर्छ । हाम्रो जस्तो विकट र भौगोलिक विषमता भएको देशमा यसलाई नै आधार मानी हैजाको व्यवस्थापन गर्न अगाडि बढ्नु आवश्यक छ । दोस्रोमा, रोगको निश्चित निदान गर्न हैजा रोगका शङ्कास्पद बिरामीको दिशाको नमुना लिने र प्रयोगशालामा कल्चर वा पिसीआर परीक्षणबाट भिब्रियो कलेरा नामक किटाणु भएको प्रमाणित भएमा हैजा देखा परेको निश्चित गर्नु पर्छ । यस्तो अवस्थामा समुदायमा झाडापखालासहित माथि उल्लिखित मिल्दाजुल्दा लक्षण देखा परेका सम्पूर्ण व्यक्तिलाई हैजाको शङ्कास्पद निदानका आधारमा रोगको रोगथाम, उपचार र नियन्त्रणका प्रव्रिmया अवलम्बन गरी हाल्नु पर्छ अन्यथा बिरामीको अकालमा मृत्यु हुन सक्छ । 

हैजालाई मुख्य पानीजन्य रोगका रूपमा परिभाषित गरिएको छ । यसलाई एकअर्कामा फैलिन नदिनका लागि खानेपानीको प्रदूषणलाई रोक्नु पर्छ । प्रदूषण हुने प्रमुख कारणमा खानेपानीको मुहान वरिपरि जथाभावी दिशा, पिसाव गर्नु, खानेपानीको स्रोत र पानी वितरण प्रणालीमा बाढी, पहिरोका कारण प्रदूषण हुनु, पानीको स्रोतसँगै जनावर जथाभावी छाडा छोड्नु, उद्योग, कलकारखाना र घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन नगर्नु हो । यसै गरी, पानीको प्रदूषण बढ्नु, फोहोरको ढल र पानी वितरण हुने पाइप फुट्न गई तरल पदार्थ मिसिने, खानेपानीको प्रयोगकर्ताको लापरबाही आदि हुन् । सङ्क्रमण रोकथामका लागि पानी वितरण गर्ने निकाय, स्थानीय तह, उपभोक्ता र स्वास्थ्य निकायको निरन्तर समन्वय र सहकार्य हुनु आवश्यक छ ।

हैजाको रोकथाम र नियन्त्रणमा स्थानीय स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका हुन्छ । स्वच्छ पिउने पानी र वातावरणीय सरसफाइका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउन स्वास्थ्यकर्मीले सहजीकरण गर्नु पर्छ । खानेपानीको जैविक र रासायनिक तìवको मिश्रण कस्तो छ र समग्रमा पानी सेवनयोग्य छ, छैन भन्ने विषय स्वास्थ्यसँग सम्बन्धित भएकाले स्वास्थ्यकर्मीले नै बढी अग्रसरता देखाउनु पर्छ । राष्ट्रिय खानेपानी मापदण्ड २०६२, अनुसार पिउन योग्य खानेपानीको मापदण्ड तोकिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्गतका निकायलाई खानेपानी गुणस्तर अनुगमन तथा निगरानी गर्ने जिम्मेवारी अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खानेपानी गुणस्तर सर्भिलेन्स निर्देशिका २०७० तयार गरी लागु गरेको छ । सङ्घीय शासन पद्धति अनुसार हाल खानेपानी गुणस्तर निगरानीका लागि सङ्घीय, प्रदेश र स्थानीय तह अन्तर्गतका स्वास्थ्य निकायबाट निम्न अनुसारको भूमिका निर्वाह गर्नु पर्छ । खानेपानीलाई यसको मुहानदेखि उपभोक्ताको मुखसम्म प्रदूषणरहित रूपमा वितरण गर्नु हो । पानी वितरणमा समस्या देखिएमा रोकथामका उपायसहित सम्बन्धित निकायमा जानकारी गराउनु पर्छ । खानेपानी वितरणको भौतिक र प्राविधिक पक्षको जिम्मेवारी खानेपानी वितरक संस्थाको हो भने स्वास्थ्यको दृष्टिकोणले त्यो उपयुक्त छ छैन, त्यसको प्रमाणीकरण गर्ने कार्य स्वास्थ्यसँग सम्बन्धित निकायको हो । सहरदेखि गाउँसम्म विभिन्न निकायका माध्यमबाट खानेपानीको आपूर्ति हुँदै आएको छ र तिनीहरूको स्थानीय स्वास्थ्य संस्थासँग खानेपानी वितरणका सम्बन्धमा निकट समन्वय हुनु आवश्यक छ । 

खानेपानी सुरक्षा योजना अन्तर्गत माथि उल्लेख गरेका दुवै निकाय र सम्बन्धित साझेदार संस्थाको संलग्नतामा सुरक्षा समिति गठन गर्नु पर्छ । उक्त समितिले खानेपानी वितरण प्रणालीको नक्साङ्कन र मूल्याङ्कन गर्ने, प्रदूषण पहिचान गर्ने र जोखिम विश्लेषण गर्ने, जोखिम नियन्त्रण र सुधारका योजना बनाउने र त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न पानी वितरक संस्थालाई सहजीकरण गर्नु हो । यसरी वितरित पानीबाट उपभोक्तामा कस्तो प्रभाव परेको छ भन्ने विषयमा पनि उक्त समितिले समय समयमा उपभोक्ता सन्तुष्टि सर्वेक्षण गरी प्राप्त नतिजाका आधारमा सुधारका योजना तयार गरी पानी वितरक संस्थालाई अवगत गराउनु पर्छ ।

वितरित खानेपानीको गुणस्तर परीक्षण गर्ने कार्य स्वतन्त्र निकायबाट हुनुपर्ने प्रावधान अनुसार स्वास्थ्य हेर्ने निकायलाई यसको जिम्मेवारी दिइएको छ । जिम्मेवारी अनुसार खानेपानीको गुणस्तरको लेखाजोखा गर्दा प्रथमतः पानी वितरण गर्ने निकायबाट वितरित पानीको नियमित प्रयोगशाला परीक्षण र क्लोरिनेसन गरेको छ, छैन त्यसको अभिलेख निरीक्षण गर्नु पर्छ । खानेपानी वितरण गर्नुअघि प्रयोगशाला परीक्षण र आवश्यक अनुसार पानीको शुद्धीकरण नगरेको भएमा त्यसलाई नियमित रूपमा अवलम्बन गर्नका लागि जिम्मेवार बनाउनु पर्छ । 

दोस्रोमा, खानेपानीको वितरण प्रणाली वा सुरक्षा प्रणालीको नियमित अनुगमन गरी खानेपानी वितरक निकायलाई नियमित पृष्ठपोषण गर्नु पर्छ । यसका लागि समय समयमा खानेपानीको मुहान, वितरण पाइप र उपभोक्ताको धारोबाट पानीको नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण गर्नु पर्छ । पानी परीक्षणमा पानीमा राख्नुपर्ने क्लोरिनको मात्रा र पानीमा हानिकारक कीटाणु भए नभएको परीक्षण गरी त्यसको नतिजा पानी वितरक संस्थालाई उपलब्ध गराउनु पर्छ । सहर बजारमा खानेपानीको वितरण खानेपानी आयोजनाले मात्र नगरी अन्य असङ्गठित तवरबाट ( ट्याङ्कर, जार र उपभोकता समिति) पनि वितरण भइरहेको हुन्छ । तसर्थ, त्यस्ता वितरित पानीको पनि नियमित नमुना लिई प्रयोगशाला परीक्षण गरी त्यसको नतिजा सम्बन्धित निकायमा उपलब्ध गराउनु आवश्यक छ । यसरी कुनै पनि खानेपानी वितरकबाट वितरित खानेपानीको नमुना परीक्षण गर्दा हैजा वा अन्य हानिकारक कीटाणु वा जीवाणु देखा परेमा खानेपानी वितरक संस्थाबाट त्यस्तो पानीलाई शुद्धीकरण गरेर मात्र वितरण गराउनु पर्छ ।

वितरित खानेपानीको अवस्था पहिचान गर्न स्थानीय स्वास्थ्य संस्थामा पानीजन्य रोगको उपचार गर्न आउने बिरामीको सङ्ख्या र मृत्युको सङ्ख्या, शङ्कास्पद हैजाका बिरामी सङ्ख्या र मृत्युको सङ्ख्या के कस्तो छ नियमित विश्लेषण गर्नु पर्छ । यस प्रकारको अवस्था विश्लेषणले वितरित खानेपानीको स्वच्छता पहिचान गर्न मद्दत पुग्छ । पानीजन्य रोगको प्रकोप बढ्दै गएमा त्यसको जानकारी पानी वितरक संस्थालाई उपलब्ध गराउनु पर्छ । जसले गर्दा उक्त पानी वितरक निकायले खानेपानीको शुद्धीकरणका उपाय अवलम्बन गर्ने अवसर प्राप्त गर्छ ।

खानेपानीको गुणस्तरको निगरानी गर्न सङ्घीय, प्रदेश र स्थानीय तहका सबै अस्पतालमा आधारभूत रूपमा गुणस्तरीय पानीको सूचकका आधारमा पानी परीक्षणको व्यवस्था मिलाउनु पर्छ । अस्पताल नभएका स्थानीय तहले उपलब्ध स्वास्थ्य संस्थामध्ये कम्तीमा एउटा स्वास्थ्य संस्थामा तुरुन्त पानी परीक्षण गर्ने प्रविधिको प्रयोग गरी कम्तीमा ६। ६ महिनामा समुदायका प्रत्येक खानेपानी स्रोतको पानी परीक्षण गरी त्यसको नतिजा सम्बन्धित पक्षलाई उपलब्ध गराउनु पर्छ । अन्त्यमा, खानेपानीलाई मानव जीवनको प्राणका रूपमा प्रयोग गर्नुपर्ने भएकाले यसलाई स्वच्छ र सफा रूपमा वितरण गर्ने कार्यमा तीनै तहका सरकार, वितरक संस्था र उपभोक्ता सचेत हुन जरुरी छ । 

   

Author

शम्भुप्रसाद ज्ञवाली