जुम्ला समाचारदाता
जुम्ला, पुस २१ गते । जुम्लामा झन्डै पाँच सय जना अट्ने क्षमताको बहुउद्देश्यीय सभा हल निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ । तत्कालीन जिल्ला विकास समितिका संरचना जीर्ण भइरहेका समयमा कार्यालय भवनसहित नयाँ बहुउद्देश्यीय सभा हल निर्माण भइरहेको हो ।
जिल्ला समन्वय समितिको प्राङ्गणमा कार्यालय भवनसहित बहुउद्देश्यीय हल निर्माण भइरहेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार करिब पाँच सय मानिस अटाउने क्षमताको सो सभा हल सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाको सहयोगमा निर्माण भइरहेको छ । सहरी विकास तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार दुई करोड ७८ लाख १० हजार ६५१ रुपियाँको लागतमा कौशिक÷जेभी सन्ध्या जेभी नेपालगन्जले ठेक्का लिई काम गरिरहेको छ ।
तत्कालीन समयमा जिल्ला विकास परिषद्मै निर्माण भइरहको परिषद् भवन अलपत्र भएपछि त्यसको निकास हालसम्म पनि हुन नसकेका कारण अहिले जिल्ला समन्वय समितिको प्रस्तावमा नयाँ कार्यालय भवन र सभा हल निर्माण भइरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार अहिलेसम्म सभा हल ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । यस्तै जिल्ला समन्वय समितिको कार्यालय भवनको तल्लो तला चार कोठा तथा हलसहितको निर्माण भइरहेको छ ।
समन्वय प्रमुख आचार्यले दुईतले सो सभा हल निर्माण हुने भएकाले जम्मा १० कोठा हुने बताउनुभयो । उहाँका अनुसार यस वर्षमै निर्माण सम्पन्न हुने गरी काम भइरहेको छ ।