• १८ साउन २०८१, शुक्रबार

महिला सशक्तीकरणको विषयमा ‘सतीदेवी’

blog

काठमाडौँ, साउन १८ गते । महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको निर्देशक लक्ष्मण सुवेदीले बताउनुभएको छ । पत्रकार हुँदै चलचित्र निर्देशन बन्नुभएका सुवेदीले ग्रामीण भेगको एउटा कथालाई सतीदेवी पात्रमार्फत व्यक्त गरिएको जानकारी दिनुभयो । 

“चलचित्रमा गाउँमा हुर्किएकी एक छोरीको सङ्घर्षलाई देखाएका छौँ । सतीदेवी नामक पात्रमार्फत ती छोरीले गरेको सङ्घर्षले अन्यलाई प्रेरणा दिन्छ भन्नेमा विश्वस्त छु । नेपाली चलचित्र भएकाले मौलिकता झल्किने गतिविधि गरिरहेका छौँ”, निर्देशक सुवेदीले भन्नुभयो । शीर्ष भूमिकामा देखिनुभएकी अभिनेत्री मलिका महतले आफ्नो लागि महत्त्वपूर्ण पात्र हुनुका साथै नयाँ जीवन बाँच्न पाएको बताउनुभयो । 

“सतीदेवी पूर्णरुपले छोरी, नारी प्रधान कथामा आधारित छ । यसले मलाई ग्रामीण सौन्दर्यसँगै जनजीवनसँग परिचित गराएको छ । छोरीले उचित शिक्षा पाएमा समाजमा ल्याउन सक्ने परिवर्तनलाई चलचित्रमा राम्रोसँग बुझाइएको छ”, अभिनेत्री महतले भन्नुभयो । चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनीषा सापकोटा लगायतले अभिनय गर्नुभएको छ । रासस