• १८ साउन २०८१, शुक्रबार

काठमाडौँको एक गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला

blog

काठमाडौँ, साउन १८ गते । काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गस्थित एक गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी अन्दाजी १९-२० वर्षीया करिश्मा सार्की मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “उनीहरू यही साउन १५ गतेदेखि उक्त गेष्ट हाउसमा बस्दै आएको र आज दिउँसो १२ बजेसम्म खाना खानका लागि बोलाउन जाँदा ढोका नखोलेपछि दिउँसो १ बजे प्रहरीलाई खबर गरिएको जानकारी प्राप्त भएको छ  ।” प्रहरीले गेष्टहाउसको ढोका खोली हेर्दा महिला घाटी काटिएको र पुरुष पङ्खामा डोरीले पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेको थियो । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । रासस