• १८ साउन २०८१, शुक्रबार

मुस्ताङमा लटरम्म फलफूल

blog

शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउको बोटमा लागेका दाना । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, साउन १८ गते । 
हिमालपारिको जिल्ला मुस्ताङमा अहिले विभिन्न फलफूलहरू लटरम्म फलेर मनमोहक देखिन थालेको छ । मुस्ताङमा स्याउ मात्रै नभएर आरु, आरु बखडा, ओखर, खुर्पानी, कागजी बदाम, नास्पातीलगायतका फलफूलहरूको पनि राम्रो उत्पादन हुन्छ ।

विगतदेखि नै सबैले चर्चा परिचर्चा गर्ने भनेको मार्फाको स्याउ हो । हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा पर्ने मार्फाको स्याउ देश विदेशमा सबैले रुचाउने स्वाद हो । अहिले त्यही मार्फा क्षेत्रको स्याउले बोटमा आफ्नो रङ्गिन छवि देखाइ रहेको छ । स्याउ सँगै खुर्पानी (पलम), कागजीबदाम, नास्पाती जस्ता फलफूलहरू पनि शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा फलेका छन् ।

मुस्ताङको जोमसोमका शालिग्राम होटलका सञ्चालक अमृत सुवेदी भन्नुहुन्छ, ‘‘यो साल स्याउ आकर्षक देखिएको छ र फलेको पनि धेरै छ ।’’ गत वर्ष परागसेचनको समयमा पानी परेर राम्रोसँग परागसेचन हुन नपाउँदा कम फलेको स्याउ यस वर्ष भने राम्रो फलेको उहाँको भनाइ छ ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले स्याउमा स्वाद बढ्ने समय भएकाले अबको एक महिना आकासे पानी कम भएमा स्याउमा राम्रो हुने बताउनुभयो ।