• १८ साउन २०८१, शुक्रबार

टिआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ

blog

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ

काठमाडौँ, साउन १८ गते । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी) मा दलहरूका बिचमा भएको सहमतिबाट पछाडि फर्किनु नहुने बताउनुभएको छ ।

शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै महासचिव गुरुङले विगतमा पनि पटक–पटक टिआरसीको अन्तरवस्तुमा सहमति भए पनि उल्टिने गरेको भन्दै यसपटक सहमतिबाट पछाडि फर्किनु नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘टिआरसीलाई राजनीति गर्ने भाँडो नहोस् भन्ने कुरामा हाम्रो आग्रह हो । १७/१८ वर्षसम्म यसलाई जुन ढङ्गले अवरोध गर्ने, गराउने । सहमति गर्ने फेरि उल्टिने, सहमति गर्ने फेरि उल्टिने गरेर अवरोध गरेको गरेकै कारणले १७/१८ वर्ष बित्यो । त्यसकारणले अब त्यसरी उल्ट्याउने काम नहोस् भन्ने हाम्रो आग्रह हो । विगत कालको जस्तो पटक–पटक उल्टिने काम नहोस् भन्ने कामना हो ।’’

विगतमा सहमति कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरू उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडि बढ्नेमा आफूहरू आशावादी रहेको उहाँको भनाइ छ । उहाँले सहमति कार्यान्वयन गर्नका लागि दलहरूलाई आग्रह समेत गर्नुभयो ।

‘‘विगतमा पनि पटक–पटक टुङ्गिएकै हो । अन्तरवस्तुमा सहमति भयो । फेरि पछाडि उल्टियो । सहमति भयो फेरि पछाडि प्रक्रियामा जाँदा कुनै न कुनै इस्यु उठाएर विलम्ब हुँदै आएको अवस्था हो । अहिले जुन सहमति भएको छ, भविष्यमा उल्टिएन भने, भविष्यमा कुनै अवरोध भएन भने प्रक्रिया अगाडि बढ्छ भन्ने कुरामा हामी आशावादी छौँ ।,’’ महासचिव गुरुङले भन्नुभयो, ‘‘सहमति कायम रहोस् । लागू होस् । यसलाई उल्लङ्घन गर्ने अथवा सहमतिबाट ब्याक हुने प्रक्रिया नहोस् भन्ने कुरामा हामी आशावादी छौँ । सहमति गर्नका लागि यो आयोग बनेको हो ।’’

महासचिव गुरुङले टिआरसीको विषय टुङ्ग्याउन निकै विलम्ब भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गर्नुभयो । उहाँले माओवादी केन्द्र सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।