• ११ मंसिर २०८१, मङ्गलबार

अर्घा दरबारको पुनर्निर्माण सुरु

blog

सन्धिखर्क समाचारदाता

सन्धिखर्क, साउन १८ गते । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबारको पुनर्निर्माण सुरु भएको छ । विसं. २०७२ को भूकम्पबाट जीर्ण अवस्थामा रहेको दरबारलाई पुरातत्व विभागले पुरानै शैलीमा निर्माण कार्य सुरु गरेको हो । गत वर्ष निर्माण सुरु भए पनि बजेटको अभावले निर्माण कार्य रोकिएको थियो । यस वर्ष सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४० लाख रुपियाँ अनुदान पाएपछि निर्माण कार्य सुरु भएको हो । 

पुरातत्व विभागको अन्वेषण र खोजीका आधारमा बाइसे चौबिसे राज्यकालमा भएको डिजाइन र शैलीमा निर्माणकार्य सुरु भएको दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो । उहाँका अनुसार दरबार पहिला तीनतले थियो । अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको रमणीय स्थल हो । बाइसे चौबिसे राज्यकालको समयमा राजकाज चलाउने स्थानका रूपमा दरबारसँगै महाकाली मन्दिर छ । मन्दिरमा विजया दशमीको दिन विशेष मेला लाग्ने गर्छ । सराये नाचको प्रमुख उदगमस्थलका रूपमा अर्घाको दरबार र अर्घा भगवती मन्दिरलाई लिने गरिन्छ । हाल मन्दिरमा भगवतीको मूर्ति प्रतिस्थापना गरिएको छ । 

सन्धिखर्क नगरपालिकाले अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा २१ फिटको मूर्ति राखेको छ । मूर्ति स्थापनासँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । लिच्छवीकालदेखि नै दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आएको पुजारी किशोर आचार्य बताउनुहुन्छ । अर्घाखाँचीकै सुपादेउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजाने योजनासहित काम भइरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । पछिल्लो समय अर्घा दरबारमा पर्यटकको वृद्धि भएको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।