सुर्खेत समाचारदाता
सुर्खेत, साउन १८ गते । यहाँका प्रमुख प्रशासनिक तथा व्यापारिक केन्द्र वीरेन्द्रनगर बजार जोड्ने हटलाइन सडकभरि खाल्टैखाल्टा छन् । सडकमा भएका खाल्डोले गर्दा जोखिम बढ्दै गएको छ ।
खोर्केखोलाको रातोपुलदेखि वडा नं. ४ के कुमाइ चोकसम्म साना ठुला गरी सयभन्दा बढी खाल्टाखुल्टी रहेका छन् । निकै व्यस्त सडक भए पनि खाल्टाखुल्टीले गर्दा सवारीसाधन तथा पैदलयात्रुलाई समेत हिँड्न सास्ती हुने गरेको छ । सडकमा खाल्डो पर्दा भित्रको सानातिना ढुङ्गा यत्रतत्र छरिएका छन् ।
स्थानीय गोपाल नेपाली विगतमा खाल्टाखुल्टी पुर्ने प्रयास गरिए पनि फेरि समस्या ज्यूँका त्यूँ रहेको बताउनुहुन्छ । खाल्टाखुल्टीका कारण धेरै दुर्घटना समेत भइसकेका छन् तर सम्बन्धित निकायले खासै वास्ता गरेको जस्तो देखिँदैन ।
अघिल्लो वर्ष वडा कार्यालयले आफ्नो वडा क्षेत्रभित्रको खाल्टाखुल्टी पुर्न छ लाख बजेट छुट्याएको थियो तर वीरेन्द्रनगर नगरपालिकाले भने आफ्नै बजेटबाट खाल्डो पुर्ने जनाएपछि आफूहरूले बजेट खर्च नगरेको वडाध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । अहिले पनि खाल्टाखुल्टी पुर्न चौतर्फी दबाब आएपछि नगरपालिकाका साथै पूर्वाधार निर्देशनालयसम्म हारगुहार गरेको उहाँले बताउनुभयो ।
सडकका खाल्टाखुल्टी पुर्नका लागि सडक बोर्डले ठेक्का आह्वान गरिसकेको बताइएको छ । वडाध्यक्ष केसीका अनुसार सडक बोर्डले ठेक्का गरे पनि नगरपालिकाले बजेट नदिँदा खाल्टाखुल्टी पुर्न नसकेको पाइएको छ । पूर्वाधार निर्देशनालयले पनि पहिले नै ठेक्का भइसकेका कारण दोहो¥याएर काम गर्न नमिल्ने जवाफ दिएको उहाँले बताउनुभयो ।
यता वीरेन्द्रनगर नगरपालिकाले भने सडकको खाल्टाखुल्टी यही दसैँ, तिहारअगाडि नै पुर्ने तयारी गरिरहेको जनाएको छ । नगर उपप्रमुख नीलकण्ठ खनालले सडक बोर्डले ठेक्का लिइसकेको र बर्सात सकिनासाथ दसैँ, तिहारअगाडि नै सडकका सबै खाल्टाखुल्टी पुर्ने तयारी भइरहेको बताउनुभयो । खाल्डो भएका ठाउँमा पुर्ने र बढी खाल्टाखुल्टी परेको ठाउँमा कालोपत्रे गरिने जानकारी उहाँले दिनुभयो।