• ११ मंसिर २०८१, मङ्गलबार

भेरीगङ्गाको किनारमा आधुनिक सहर बन्दै

blog

बुलबुले समाचारदाता

सुर्खेत, साउन १८ गते । पूर्वी सुर्खेतको भेरीगङ्गा नयाँ सहरको रूपमा विकसित भइरहेको छ । अहिले गुणस्तरीय सडक, विद्युत्, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना धमाधम निर्माण भइरहेका छन् । भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो । 

सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अनुसार भेरीगङ्गा उपत्यकालाई नयाँ सहरका रूपमा अगाडि सारेको थियो । गत आर्थिक वर्ष २०८०/८१ देखि छुट्टै कार्यालय स्थापना गरेर काम सुरु गरिएको छ । योजना पुरानै भए पनि काम भने गत वर्षबाट मात्र सुरु भएको हो ।

गुर्भाकोट नगरपालिका–८ को मेहेलकुनामा आयोजनाको कार्यालय स्थापना गरिएको छ । गत वर्षबाट कार्यालय स्थापना गरेर पूर्वाधार निर्माणको काम सुरु गरिएको आयोजना प्रमुख हेमन्त काफ्लेले बताउनुभयो । उहाँका अनुसार अहिले धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । भेरीगङ्गा नगरपालिका–१२, छिन्चुमा हाटबजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ८० प्रतिशत काम सकिएको आयोजनाका सबइन्जिनियर महेश खड्काले बताउनुभयो । यसै गरी भेरीगङ्गा नगरपालिका–९ मा बसपार्क निर्माणको काम सुरु भएको छ । हालसम्म बसपार्क निर्माणको ५७ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । उक्त योजनाको दुई करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । 

यस्तै गुर्भाकोट नगरपालिका–८, खटाङ्गमा मन्दिर निर्माणको काम सुरु गरिएको छ । अहिलेसम्म पर्खाल, सडक निर्माणलगायतका काम भएका छन् । विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको सबइन्जिनियर खड्काले बताउनुभयो । गत आव २०८०/८१ मा छ वटा योजना सञ्चालन गरिएको आयोजनाले जनाएको छ । जसमध्ये दुई वटा बहुवर्षीय र चार वटा एक वर्षमा सम्पन्न गर्नुपर्ने योजना रहेका छन् । 

चालु आवमा तीन वटा ठुला योजना सञ्चालन हुने भएका छन् । गुर्भाकोट नगरपालिका–१२ मा आयोजनाको भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षबाट भवन निर्माणको काम थालिने आयोजना प्रमुख हेमन्त काफ्लेले बताउनुभयो । भवन निर्माणका लागि तीन करोड रुपियाँ बजेट विनियोजन भएको छ । भेरीगङ्गा नगरपालिकाको मसिना र गुर्भाकोट नगरपालिकाको मालारानीमा सहरी पूर्वाधार निर्माण गरिने भएको छ । उक्त योजना निर्माणका लागि चालु आवमा तीन/तीन करोड बजेट विनियोजन भएको आयोजना प्रमुख काफ्लेले जानकारी दिनुभयो । 

गुरुयोजना बनाइँदै

पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने योजना यो वर्ष मात्र कार्यान्वयन हुने भएको छ । गत वर्ष बजेटको स्रोत सुनिश्चित नहुँदा काम सुरु हुन नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । 

भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकालाई जोड्ने गरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माणको यो वर्षदेखि काम सुरु गरिने आयोजनाका सूचना अधिकारी बिना चाकतुले बताउनुभयो । चालु आव २०८१/८२ मा गुरुयोजना निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।