• १८ साउन २०८१, शुक्रबार

मृत भेटियो चितुवा

blog

अमरगढी समाचारदाता

डडेलधुरा, साउन १८ गते । एकपछि अर्को गरी चितुवा मृत अवस्थामा भेटिन थालेका छन् । गत जेठ ३ गते नवदुर्गा गाउँपालिकाको एक जङ्गलमा पोथी चितुवा मृत अवस्थामा भेटिएको थियो । साउन १ गते गन्यापधुराको जङ्गलमा भाले चितुवा मृत अवस्थामा भेटिएको छ भने बिहीबार अजयमेरु गाउँपालिकाको जङ्गलमा एक चितुवा मृत फेला परेको छ । अजयमेरु गाउँपालिका–३, भद्रपुरको जङ्गलमा एक चितुवा मृत फेला परेको डिभिजन वन कार्यालका निमित्त प्रमुख सुरेशचन्द्र डिसीले जानकारी दिनुभयो ।

करिब ७५ प्रतिशत जङ्गल क्षेत्र रहेको डडेलधुरामा चितुवा मृत अवस्थामा फेला परिरहेका छन् । भारतसँग सीमा जोडिएको यस मध्यपहाडी जिल्लाको भौगोलिक स्वरूप महाभारत पर्वत र चुरे पर्वतसम्म परेको भित्री मधेश क्षेत्र रहेको छ । 

२०७७ वैशाख महिनामा दुई हजार पाँच सय मिटर उचाइको महाभारत पर्वतमा पाटेबाघसमेत देखिएको थियो । महाभारतको तेले लेकमा डिभिजन वन कार्यालयले जडान गरेको स्वचालित क्यामरामा पाटेबाघको तस्बिर कैद भएको थियो । 

नवदुर्गा गाउँपालिका–३ को जङ्गलमा मृत फेला परेको बाघ पासोमा परेर मरेको देखिएको थियो । गन्यापधुरा गाउँपालिका–१ को छब्बिसे जङ्गलमा फेला परेको बाघको नाकबाट रगत आएको र खुट्टामा समेत चोट लागेकोे थियो । डिभिजन वन अधिकृत डिसीका अनुसार महाकाली राजमार्गछेउमा मरेको चितुवा फेला परेकाले गाडीले ठक्कर दिएको हुन सक्ने आशङ्का गरिएको छ । अजयमेरुमा मृत फेला परेको चितुवाको कारण भने खुल्न सकेको छैन ।

डिभिजन वन कार्यालयको टोली घटनास्थल गएकाले जाँच गरेपछि मात्रै विस्तृत जानकारी हुने डिभिजन प्रमुख डिसीको भनाइ छ । मृत भेटिएका चितुवालाई जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ मा रहेको डिभिजन वन कार्यालयमा ल्याई मुचुल्का उठाई सरोकारवालाको रोहबरमा खाल्डोमा पुर्ने तयारी गरिएको छ । 

बँदेल मार्न थापेको पासोमा चितुवा

बँदेलले खाद्यान्न बाली सखाप पार्न थालेपछि स्थानीयले पासो थाप्ने गरेका छन् । मोटरसाइकल, हाते ट्याक्टरलगायतका उपकरणको क्लज र एक्सिलेटरबाट तारको पासो बनाउने गर्छन् । यो तार निकै बलियो हुने भएकाले बँदेल पासोमा परेर मर्छन् । 

यही पासोमा चितुवा पनि पर्ने गरेका छन् । नवदुर्गामा भेटिएको चितुवाको शरीर काटिएको अवस्थामा भेटिएको थियो । पासोमा परेर मरेको हुन सक्ने वन अधिकृत रणेन्दै सिंहले बताउनुभएको थियो । यसअघि पनि भागेश्वर गाउँपालिका–४, बडुवा क्षेत्रमा एक चितुवा पासोमा परी मरेको  अवस्थामा फेला परेको उहाँले बताउनुभयो । वन अधिकृत सिंहका अनुसार सिकारीले चितुवा मारेको भए छाला, हड्डी, दाँत, जुँगा निकालेको हुन्छ तर मृत फेला परेका चितुवाको सबै अङ्ग भेटिने गरेको छ ।