काठमाडौँ, साउन १७ गते । प्याभिलियन्स चेस एकेडेमी र मित्रनगर राइजिङ्ग क्लबको सहकार्यमा शनिबार नेपाल युवा राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
एक दिने प्रतियोगितामा शीर्ष एक सय ५० खेलाडीको सहभागिता रहने नेपाल बुद्धिचाल सङ्घले जनाएको छ । मित्रनगरस्थित पुष्पकुञ्ज उच्च माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा खुला र रेटिङ्ग १७ सय मुनिका खेलाडीले भाग लिनेछन् ।
प्रतियोगिता स्विस लिगका आधारमा जम्मा सात चरणको खेल हुनेछ । यस प्रतियोगितामा अन्तर्राष्ट्रिय नियम अनुरूप प्रतिस्पर्धाका लागि सिनियर खेलाडीहरूले १० मिनेट १० सेकेन्ड इन्क्रिजमेन्ट समय नियन्त्रणमा खेल्नेछन् ।
९१ हजार पाँच सय रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा खुलातर्फको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै शीर्था चारदेखि १०औँ स्थानमा अटाउने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
यस्तै अन्तर्राष्ट्रिय रेटिङ्ग १७ सय मुनितर्फ विजेतालाई १० हजार, उपविजेतालाई ६ हजार र तेस्रो हुनेलाई चार हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यस स्पर्धामा पनि शीर्ष १० मा अटाउनेले नगद पुरस्कार पाउनेछन् । महिला, यु–१६, यु–१४ तर्फका विजेतालाई पनि आकर्षक नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।