• १८ साउन २०८१, शुक्रबार

गोरखामा पाँच करोड राजस्व सङ्कलन

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १७ गते । जिल्ला प्रशासन कार्यालय गोरखाले पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८०-०८१ को साउन महिनादेखि असार मसान्तसम्म एक वर्षको अवधिमा पाँच करोड ७ लाख ५६ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन असुल उपर गरेको हो । 

युवाहरु विदेश मोहले गर्दा गोरखामा एक वर्षमा १२ हजार ४ सय २९ जनाले राहदानी निकालेका छन् । जसमा ७ हजार ४ सय २९ जना पुरुष छन् भने ४ हजार ९ सय ५० जना महिला रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार मसान्त सम्ममा जिल्ला प्रशासन कार्यालय गोरखाबाट १२ हजार ४ सय २९ जनाले ई पासपोर्ट लिएका हुन् । महिलाभन्दा बढी पुरुषहरुले राहादानी लिएको र ३१६ जनाले जारी गरेको एमआरपीबाट ५ करोड भन्दा बढी राजस्व सङ्कलन असुल उपर भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । 

अहिले गोरखामा १८ वर्ष पुग्नासाथ विदेशमा पढ्न जाने र वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढी भएकाले राहदानी बनाउनेको सङ्ख्या धेरै हुन गएकाले पनि राजस्व वृद्धि हुन गएको हो । राहादानी बनाउने सङ्ख्या बढेसँगै राजस्वमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत चूडानिधि तिवारीको भनाइ छ ।