अविनाश चौधरी
धनगढी, साउन १७ गते । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा नियुक्त हुने सम्भावना बढेको छ ।
नेपाली कांग्रेस संसदीय दलले औपचारिक निर्णय गर्न बाँकी रहे पनि मुख्यमन्त्रीमा उहाँको सम्भावना बढी रहेको जनाइएको छ । यस विषयमा भोलि (शुक्रबार) दिउँसो २ बजे दलको बस्ने बैठकले अन्तिम टुङ्गो लगाउने नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो ।
“अबको मुख्यमन्त्री माननीय प्रकाशबहादुर देउवा जी हुने लगभग निश्चित नै हो, तर यो निर्णय चाहिँ होइन”, उहाँले भन्नुभयो, “भोलि (शुक्रबार) बस्ने संसदीय दलको बैठकले सबै कुराको टुङ्गो लगाउने छ ।”
सङ्घमा सत्ता साझेदारीमा भएको फेरबदलसँगै सुदूरपश्चिम प्रदेश पनि नयाँ सरकार गठनको बाटोमा अगाडि बढ्दैछ । नेकपा (एमाले) ले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबारै प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । अल्पमतमा परेको देखिएका उहाँले विश्वासको मत पाउन नसकेमा भोलिबाट स्वतः उहाँ नेतृत्वको सरकार ढल्नेछ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) बिच यो प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट बनाउने सहमति भएको छ । पूर्व मुख्यमन्त्री कमलबहादुर शाहसहित नेपाली कांग्रेसका चार जना मुख्यमन्त्रीको दौडमा रहनुभएको छ । पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह थापा र कञ्चनपुरबाटै निर्वाचित दिवानसिंह विष्ट मुख्यमन्त्रीको आकाङ्क्षी हुनुहुन्छ ।