• ११ मंसिर २०८१, मङ्गलबार

हावाहुरी र वर्षाले कृषि बालीमा क्षति

blog

हाङ्देवामा मङ्गलबार रातिको हावाहुरी र वर्षाले क्षति गरेको मकै बाली।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १६ गते। मङ्गलबार राति आएको हावाहुरी र वर्षाले ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा कृषि बालीमा क्षति गरेको छ। 

राति करिब ११ बजेपछि मेघ गर्जनसहित आएको हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९ हाङ्देवामा मकैलगायतका कृषि बालीमा क्षति गरेको हो।

हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार साबिक वडा १, २, ३ र ९ मा किसानले लगाएको कृषि बालीमा क्षति पुर्‍याएको छ। वर्षा र हावाहुरीले मकैबाली, तरकारी बाली, नगदेबाली अलैँची लगायतमा क्षति पुर्‍याएको वडाध्यक्ष गुरुङले बताउनुभयो।

हावाहुरीले घोगा लाग्ने बेला मकैबाली ढालेर सोतर बनाएको स्थानीय किसानले बताएका छन्। त्यस्तै बन्दा कोपीलगायत तरकारी बालीमा हावाहुरी र वर्षाले क्षति गरेको छ। फूल खेल्दै र दाना लाग्न सुरु भएको अलैँचीमा बालीमा पनि हावाहुरी र वर्षाले क्षति पुर्‍याएको छ। हावाहुरी बोट भाँच्नुका साथै ढालेर क्षति गरेको छ भने वर्षाका कारण भलबाढीले तरकारी बाली र अलैँचीको फूल तथा दाना लाग्न सुरु गरेको थुँगालाई पुरेर क्षति गरेको किसानको भनाइ छ।

यसैगरी वर्षाका कारण भलबाढी आउँदा किसानले लगाएको खेती बालीसँगै कृषि तथा ग्रामीण सडकसमेत अवरुद्ध बनेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो। भलबाढी सडकमा क्षति गरेपछि बुधबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको पनि उहाँले बताउनुभयो।