• २ माघ २०८१, बुधबार

कारागारका अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

blog

फाइल तस्बिर

काठमाडौँ, साउन १६ गते । नवलपरासीको कारागार कार्यालयमा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमार दत्त कर्णविरुद्ध एक लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कर्णले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकीदार/सेवाग्राहीसँग निजलाई चौकीदारबाट हटाउने र अरु कुनै सुविधा नदिने तथा कैदकट्टा मिनाहाको लागि सिफारिस गर्दा गराउँदा असहयोग गर्ने लगायतको विषय देखाई सो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ ।

आयोगका अनुसार दान, दातव्य, उपहारस्वरुप पाँच हजार रुपियाँ पर्ने जुत्ता र एक लाख २६ हजार ४०० पर्ने एलइडी टेलिभिजन लिई जम्मा एक लाख ३१ हजार ४०० लाभ स्वीकार गरी प्रयोग गरेको र घुस बापत एक लाख ५० हजार रुपियाँ सेवाग्राहीसँग लिएको पुष्टि भएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो जफत हुन समेतको मागदाबी लि बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।