• ११ मंसिर २०८१, मङ्गलबार

खोलाले बगाउँदा एक जनाको मृत्यु

blog

लिलाधर वली

घोराही, साउन १६ गते । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ झारगाउँ निवासी ६७ वर्षीय तेजबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक थापाका अनुसार शान्तिनगर गाउँपालिका–४ गिधनियामा रहेको आफन्तको घरमा गएर फर्किने क्रममा चिराघाट खोला तर्दै गर्दा बुधवार दिउँसो १२ बजे तिर खोलाले बगाएको थियो । प्रहरीका अनुसार खोलाले मृतक तेजबहादुर र उहाँकै भाइ ६४ वर्षीय चेतबहादुर भण्डारीलाईसँगै बगाएको थियो ।

चेतबहादुर भने पौडी खेलेर बाहिर निस्कन सफल भए पनि तेजबहादुरलाई खोलाले बगाएको थियो । खोलामा बगेका तेजबहादुरलाई स्थानीयले  करिब एक किलोमिटर तलबाट उद्धार गरेका थिए । खोलाले बगाइरहेको स्थानीयले देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।