• ११ मंसिर २०८१, मङ्गलबार

जाँदाजाँदै प्रदेश प्रमुख शेरचन : ‘अहिलेसम्म निष्ठाको राजनीति गरेँ’

blog

रुपन्देही समाचारदाता 

रुपन्देही, साउन १६ गते । नेपाल सरकारले लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार बुटवलस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म सहयोग गरेका सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । शेरचनले तीन वर्षको कार्यकालमा धेरै कार्यक्रममा सहभागी भई जनताको मन जित्ने प्रयास गरेको उल्लेख गर्नुभयो । यस अवधिमा धेरै क्षेत्रमा आफूले सहयोग र सहकार्य गरेको पनि उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख शेरचनले जीवनकालमा सधैँ निष्ठाको राजनीति गरेको उल्लेख गर्नुभयो । राजनीति गर्दा कहिल्यै पनि गलत फाइदा नलिएको बरु आफ्नै सम्पत्ति सकेर जनताको काममा लागेको स्मरण गर्नुभयो । लुम्बिनीको प्रदेश प्रमुखमा नेपाल सरकारले कृष्णबहादुर  घर्तीमगरलाई चयन गरेपछि तीन वर्षपछि प्रमुखबाट हट्दै गर्दा उहाँले आफूले सधैँ इमानदारीपूर्वक राजनीति गरेको बताउनुभयो ।  

पत्रकार सम्मेलनमा शेरचनले अहिलेको सरकारले संविधान संशोधन गर्नेलगायतका कुरा गर्नु आफैँमा गलत भएको पनि बताउनुभयो । यसले थप राजनीतिक अस्थिरता ल्याउने उहाँको तर्क छ । अहिलेको अवस्थामा संविधानको पालना गर्नुपर्नेमा उल्लङ्घन भएको उहाँको भनाइ थियो । 

को हुनुहुन्छ प्रदेश प्रमुख कृष्णबहादुर घर्ती  

नेपाल सरकारले लुम्बिनी प्रदेशमा रोल्पा जिल्लाका कृष्णबहादुर घर्तीलाई प्रदेश प्रमुख बनाउने निर्णय सोमबार नै गरेको छ । 

६५ वर्षीय घर्ती नेपाली कांग्रेसमा रहेर आफ्नो राजनीतिक जीवन बिताउनुभएका पाका नेता हुनुहुन्छ । दुई श्रीमती र सात जना छोराछोरी रहनुभएका घर्तीको अहिले भने दुवै श्रीमतीको मृत्यु भइसकेको छ । विसं २०४९ मा नेपाली कांग्रेसबाट उहाँ गाविस अध्यक्ष हुनुभएको थियो । यसअघिको प्रदेश सभा निर्वाचनमा उहाँलाई समानुपातिक सांसदको सूचीमा राखिएको थियो । हाल उहाँको बसाइ जिल्ला सदरमुकाम लिवाङमा छ । 

२०१६ साल माघ १० गते जन्मिनुभएका उहाँले २०३६ सालको विद्यार्थी आन्दोलनमा नेविसङ्घबाट राजनीति सुरु गर्नुभएको थियो । विभिन्न आन्दोलनमा जेल जीवन बिताउनुभएका घर्ती २०४९ मा साबिक घर्तीगाउँ विकास समितिको अध्यक्ष भएर जिविस सभापतिमा लडे पनि माओवादीका झक्कुप्रसाद सुवेदीसँग हार्नुभएको थियो । २०४७ सालमा पार्टीको जिल्ला समिति सदस्य हुँदै सचिव बन्नुभएको थियो । २०४८ देखि २०७२ सालसम्म महासमिति सदस्य रहेका उहाँ २०५९ देखि २०७२ सालसम्म प्रजातान्त्रिक कांग्रेसमा रहेर २०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार बन्नुभएको थियो ।

नेपाली कांग्रेस विभाजन भएको बेला शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसको रोल्पा सभापति भएका घर्ती १२ औँ महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो । अहिले कांग्रेस प्रदेश सभापति रहेका अमरसिंह पुनलाई हराउँदै उहाँ १२ औँ महाधिवेशनमा जिल्ला सभापति हुनुभएको थियो । १३ औँ महाधिवेशनमा अमरसिंह पुन जिल्ला सभापति हुँदा प्रतिनिधि बन्न इच्छुक रहे पनि नछानिनुभएका उहाँ १४ औँ महाधिवेशनमा वडामै पराजित भएर रोकिएको नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले बताउनुभयो । आचार्य १४ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो ।