• ११ मंसिर २०८१, मङ्गलबार

जलसतह मापकको पीडा : ज्यालाबाट छाक टार्न पुग्दैन

blog

कर्णाली नदीको चिसापानी जलमापन केन्द्रमा खटिनुभएकी पार्वती गुरुङ ।

प्रकाशविक्रम शाह/अविनाश चौधरी 

धनगढी, साउन १६ गते । जलसतह मापक (गेज रिडर) रामलौटन चौधरीलाई जोखिमपूर्ण काम उमेरले छेकेको छैन । उमेरले ७२ काटे पनि उहाँमा काम गर्ने जोश र जाँगर तन्नेरीको भन्दा कम छैन । कैलालीको पहलमानपुर घर भएका चौधरी पहलमानपुर जलमापन केन्द्रको कान्द्रा नदी जलसतह मापन गर्दै आउनुभएको छ । २०५६ सालदेखि सो काम गर्दै आउनुभएका चौधरी भन्नुहुन्छ, “जबसम्म सक्छु, तबसम्म यही काम गर्छु ।” 

यो उमेरमा मान्छेको शरीर स्वाभाविक रूपमै कमजोर बन्दै जान्छ । कामभन्दा बढी आराम चाहिन्छ तर उहाँमा भने त्यस्तो अवस्था देखिँदैन । मनसुन सक्रिय भएसँगै चौधरी के दिन, के रात नदीमा पानीको बहाव नाप्न पुग्नु हुन्छ । यसरी मापन गरेको जानकारी उहाँ सम्बद्ध अधिकारीलाई सुनाउनुहुन्छ । 

“कान्द्रा नदीको पाँच मिटरमाथि पानी आयो भने भजनी, चर्रा, लालबोझी र गञ्जहुवाका मान्छे सतर्क हुनु पर्छ,” उहाँले भन्नुभयो, “त्यहाँसम्म बाढी पुग्न चार घण्टा लाग्ने भएकाले त्योभन्दा पहिले नै खबर गरेर मैले सुरक्षित रहन सतर्क गराउने गरेको छु ।” प्राकृतिक विपत्ले गर्ने क्षति न्यूनीकरणमा चौधरीको भूमिका महत्वपूर्ण रहेको छ । उहाँले समयमा नै सूचना दिएकै कारण तल्लो तटीय क्षेत्रका मानिस बेलैमा सुरक्षित स्थानमा जाने गरेका छन् । 

ज्यानै जोखिममा राखेर यस्तो जोखिम काम गरेबापत उहाँले पाउने पारिश्रमिक भने ज्यादै न्यून छ । दैनिक दुई सय रुपियाँमा काम गर्दै आएको चौधरीले सुनाउनुभयो । “छुट्टी कहिल्यै हुँदैन । ज्याला न्यून छ,” उहाँले थप्नुभयो, “एक छाक टार्न त समस्या छ तर पनि यत्तिकै बस्नुभन्दा केही गर्नु राम्रो भनेर यो काम गर्दै छु ।” त्यस्तै दार्चुला गोकलेका ६२ वर्षीय कृष्णदेव विष्ट चमेलिया नदीमा गेज रिडरको काम गर्दै आउनुभएको करिब ४२ वर्ष पुगिसके छ । २०३८ सालदेखि सो काम गर्दै आउनुभएका विष्टले पनि दैनिक जम्मा दुई सय ज्याला पाउनुहुन्छ । 

“दुई सय ज्यालामा पनि एक प्रतिशत कर काटिने गरेको छ, नदीको बहाव मापक विष्टले भन्नुभयो, “यो ज्यालाले दुई छाक खान पनि पुग्दैन । यति थोरै ज्यालामा सायद अब नयाँ मान्छेले काम गर्दैनन् होला ।” मापक चौधरी र विष्ट जस्तै सुदूरपश्चिम प्रदेशका विभिन्न नदी तथा खोलाको बहाव निगरानी गरेर जनधन क्षति हुनबाट जोगाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ३५ जना गेज रिडर अत्यन्त न्यून ज्यालामा काम गर्न बाध्य छन् । 

उहाँहरूबाट पल पलमा लिइने सूचनाका कारण सर्वसाधारणको ज्यान सुरक्षित हुने भए पनि गेज रिडरको ज्यान र जागिर भने सुरक्षित छैन । राज्य र सरोकारवाला निकायले थप सेवा सुविधाबारे गम्भीर नभइदिँदा आफूहरू न्यून ज्यालामा काम गर्न बाध्य भएको दुःखेसो उहाँहरूको छ । 

सूचना प्रवाह गर्नबाट उहाँहरू चुक्नुभएको छैन । प्रायः मापकमा पनि ज्येष्ठ नागरिक रहेका छन् । सामाजिक भत्ता बुझ्ने बेला दुई सय रुपियाँका लागि ज्यानको बाजी लगाएर जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । प्रत्येक बिहान ८, मध्याह्न १२ र अपराह्न ४ बजे गरी दिनको तीन पटक अनिवार्य रूपमा पानीको सतह मापन गर्नु पर्छ । बाढी आएको बेला रातिमा पनि जलसतह मापन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनु पर्छ ।

उक्त चुनौतीपूर्ण कार्यको पारिश्रमिक थोरै भएकाले पारिश्रमिक बढाउनुपर्ने आवाज उठाउँदै आएको सेती नदीमा जलसतह मापन गर्दै आउनुभएका दिपायलका ६५ वर्षीय हर्क बोगटीले बताउनुभयो । “पारिश्रमिक बढाउनुपर्ने मागसहितको आवश्यक कागजपत्र अगाडि बढाए पनि ज्याला बढेन,” उहाँले दुःखेसो गर्नुभयो, “घरनजिकै गर्नुपर्ने काम भनेर काम थालियो तर सेवासुविधा केही छैन ।” 

दिपायल जलमापन केन्द्रमा सेती नदीमा आठ मिटरभन्दा माथि पानीको बहाव भएमा पिपल्ला बजार क्षेत्रको केही भूभाग सतर्क हुनु पर्छ । गेज रिडरले कम्तीमा पनि न्यूनतम दैनिक पाँच सय ज्याला पाउनुपर्ने बैतडीस्थित सुर्नया गाडमा जलसतह मापन गर्दै आउनुभएका ६२ वर्षीय शङ्करसिंह भट्टको जोड छ ।

२०४० सालदेखि यो काम गर्दै आएको सुनाउँदै उहाँले पारिश्रमिक चित्त बुझ्दो नभए पनि रोजीरोटी चलाउनका लागि काममा चित्त बुझाएको उल्लेख गर्नुभयो । सरकारले आफूहरूको ज्याला बढाउनुपर्ने दुगाड खोलाको जलमापन गर्दै आउनुभएकी ६२ वर्षीय दुर्गा धामीको माग छ । 

गेज रिडरको पारिश्रमिक बढाउनुपर्ने सवालमा कुरा उठे पनि ठोस रूपमा अगाडि नबढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताउनुभयो । “गेज रिडरको पारिश्रमिक बढाउन कानुन नै बनाउनु पर्छ,” उहाँले भन्नुभयो, “पारिश्रमिक बढाउने सवालमा कुरा उठे पनि अहिलेसम्म त्यस्तो नीतिगत निर्णय केही भएको छैन ।”