• १५ साउन २०८१, मङ्गलबार

धार्मिक पर्यटनको विकास गर्नुपर्छ : मुख्यमन्त्री कार्की

blog

सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत।तस्बिरः प्रेम अधिकारी

प्रेम अधिकारी

पशुपतिनगर (इलाम) साउन १५ गते। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नु पर्ने बताउनु भएको छ।

इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकाले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नुपर्ने बताउनु भएको हो।

उहाँले वराहक्षेत्रको चतहरा, रामधुनी, अर्जुनधारा, पाथीभरा जस्ता धार्मिक र अनेकौँ सांस्कृतिक स्थल रहेको कोशी प्रदेशमा धार्मिक पर्यटनको विकास गर्न सके मात्र पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो।मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘‘राष्ट्रिय पुँजीको विकास गर्नका लागि पर्यटकीय गन्तव्यलाई बेच्न सक्नुपर्छ ।’’

कार्यक्रममा कोशी प्रदेशका पूर्व आन्तरिक तथा कानुनमन्त्री शमशेर राईले तीनै तहका सरकारले जनताको पक्षमा काम गर्नु पर्ने बताउनुभयो।सूर्योदय नगरपालिकाले बर्सेनि असार १५ गते बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने गरेको छ।सार्वजनिकीकरण कार्यक्रममा विभिन्न क्षेत्रबाट नगरको विकास गर्ने २६ जनलाई सम्मान गरिएको छ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्य प्राप्त गर्ने गरी नगरले काम गरिरहेको जानकारी दिनुभयो।महालेखा परीक्षकको कार्यालयको ६१ औँ प्रतिवेदनमा इलामका १० पालिका मध्ये सूर्योदय नगरपालिका सबै भन्दा कम बेरुजु भएको पालिकामा परेको जानकारी दिँदै आगामी दिनमा बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो।आर्थिक वर्ष २०७९/०८० को महालेखाको प्रतिवेदन अनुसार सूर्योदयको बेरुजु शून्य दशमलव शून्य सात (०.०७%) प्रतिशत मात्र छ।

आर्थिक वर्ष २०८१/०८२ का लागि सूर्योदयको कुल बजेट एक अर्ब ४१ करोड ४६ लाख २७ हजार पाँच सय रुपियाँ रहेको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो।नगरको आन्तरिक आम्दानी वार्षिक आठ करोड रहेको छ।नगरले आन्तरिक आम्दानी वृद्धि गर्न विभिन्न योजना निर्माण गरिरहेको जनाएको छ।गत आर्थिक वर्ष आर्थिक विकास र सुशासनतर्फ सूर्योदय नगरपालिका देशकै पहिलो भएको थियो।