• १५ साउन २०८१, मङ्गलबार

यु–१८ यूथ लिग : नेपाल पुलिस शीर्षस्थानमा

blog

पुलिस टोली । तस्बिर : एन्फा

काठमाडौँ, साउन १५ गते । विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले सातदोबाटो यूथ क्लबलाई ६–१ गोलले हरायो । पुलिसको जितमा विक्रम गौतम र कप्तान सुवास बमले दुई दुई तथा सजनराज गौतम र गणेश मगरले एक एक गोल गर्नुभयो ।

सातदोबाटोका लागि निष्पक्ष बरालले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै शीर्षस्थानमा रहेको पुलिसले पाँच खेलबाट १३ अङ्क बनाएको छ । पराजित सातदोबाटोको चार अङ्क छ । यस्तै मङ्गलबार नै भएको अर्को खेलमा जावलाखेल यूथ क्लबले चर्च ब्याइज युनाइटेड क्लबलाई ४–२ गोलले हरायो ।

जावलाखेलको जितमा विवस दर्लामीले ह्याट्रिक गर्नुभयो । प्रशान्त तामाङले एक गोल थप्नुभयो । चर्च ब्याइजका लागि अमनबहादुर तामाङ र पासाङ लामाले एक एक गोल फर्काउनुभयो । 

जितसँगै जावलाखेलले पाँच खेलबाट सात अङ्क बनाएको छ । पराजित चर्च ब्याइजको पनि समान खेलबाट सात अङ्क छ ।