• १५ साउन २०८१, मङ्गलबार

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक बुधबार

blog

काठमाडौँ, साउन १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।

विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । हाल विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको उहाँले बताउनुभयो । 

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र सक्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनीत गर्ने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायतका विषयमा छलफल गर्ने तयारी छ । हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी सदस्य मनोनीत गरिने छ । बैठकमा मुलुकको समसामयिक राजनीतिकको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने केन्द्रीय सदस्य पाण्डेयले बताउनुभयो । रासस