काठमाडौँ, साउन १५ गते। नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ। मंगलबारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो।
उहाँले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताउनुभयो। उहाँले जनताका जल्दा बल्दा समस्या र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारविरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गर्ने निर्णय भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘५ दिनदेखि बैठकमा छलफल गरिरहेका थियौँ। प्रमुख प्रतिपक्षको भूमिकामा पनि हामी छौँ। प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो सङ्ख्या कम छ र कम भए पनि गुणात्मक बनाउने, देश र जनताका जल्दा बल्दा समस्या र पहिला हाम्रो सरकारले सुरु गरेका सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचार विरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने, आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गर्नुपर्छ। जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस्। यो जनतामा जाने सुवर्ण अवसर पनि हो। वृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चालाई बिस्तार गर्दै लैजान्छौँ। कम्युनिष्ट पार्टीको पुनः गठन निश्चित हुन्छ।’
उहाँले वृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिस्ट पार्टीको पुनः गठन निश्चित गर्ने पनि बताउनुभयो।