• १५ साउन २०८१, मङ्गलबार

ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि

blog

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ताप्लेजुङ गोल्डकप ट्रफी। तस्बिर : चन्द्र पन्दक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १५ गते। आउँदो भदौ ३ देखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि गरिएको छ। सदरमुकाम फुङ्लिङमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष वृद्धि गरिएको हो।

प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले मङ्गलबार पत्रकार सम्मेलन गर्दै यस वर्षदेखि पुरस्कार राशि वृद्धि गरिएको जनाएको छ। पुरस्कार राशि वृद्धि गरिएपछि यसवर्ष गोल्डकप विजेताले पाँच लाख ५५५ रुपियाँ नगद पाउने छ। यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो।

अध्यक्ष गुरुङका अनुसार यसअघि प्रथम पुरस्कार राशि तीन लाख ११ हजार १११ रुपियाँ रहेको थियो भने द्वितीय पुरस्कार एक लाख ११ हजार १११ रुपियाँ रहेको थियो। त्यस्तै यस वर्षदेखि विधागतअन्तर्गत प्रतियोगिता सर्वोत्कृष्ट हुने खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उदीयमान लगायतलाई पनि विगतमाभन्दा बढी पुरस्कार राशि प्रदान गर्ने निर्णय भएको समितिले जानकारी दिएको छ।

यता यस वर्षको प्रतियोगितामा स्थानीय सङ्घर्ष रिपोर्टिङ क्लब उकालीपानी, बाइबाई पाँचथर फुटबल क्लब, सगरमाथा रिपोर्टिङ क्लब मोरङले सहभागिता जनाउने भएका छन्। यसैगरी सलहेश यूथ क्लब सिराहा, त्रिभुवन आर्मी क्लब काठमाडौँ, बुटवल लुम्बिनी एफसी र झापा–११ सहित आठ टोलीले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको पनि समितिले जनाएको छ। समितिका अनुसार भारतको एक टोली सहभागी हुने छ। 

विक्रम संवत् २०२९ सालदेखि प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ। कञ्चनजङ्घा च्यालेन्ज कप, पाथीभरा गोल्डकप, हाल ताप्लेजुङ गोल्डकपसहित विभिन्न नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना महामारी (कोभिड–१९) को समयमा भने तीन वर्षसम्म सञ्चालन हुन सकेको थिएन। 

यसैबिच यस वर्षको गोल्डकप अर्थात् फुटबल प्रतियोगिता अवलोकन गर्ने दर्शकका लागि प्रवेश शुल्कसमेत निर्धारण गरिएको समितिले जनाएको छ। समितिका अध्यक्ष गुरुङका अनुसार प्रि–क्वार्टर फाइनलका लागि टिकट दर १०० रुपियाँ, सेमिफाइनलका लागि २०० र फाइनल खेल अवलोकन गर्नका लागि २५० रुपियाँ टिकट दर निर्धारण गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि मिति तय भएसँगै तयारीलाई अगाडि बढाइएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ।