• १५ साउन २०८१, मङ्गलबार

साहित्यिक पत्रिकालाई आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छः सांसद पन्त

blog

सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्त

काठमाडौँ, साउन १५ गते । सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद पन्तले हाम्रो भाषा, संस्कृति र साहित्यका जोगाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले ती पत्रिकाहरुलाई सरकारले आर्थिक सहयोग र विज्ञापनको पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

उहाँले प्रकाशक र सम्पादकले आफ्नो लगानी गरेर ती पत्रिकाहरु जोगाउन सकिने अवस्था नरहेकाले पनि सरकारले त्यसका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्ने तर्क गर्नुभयो ।

‘‘हाम्रो संस्कृति र साहित्यलाई जोगाउनका लागि साहित्यिक पत्रिकाहरुको महत्त्वपूर्ण योगदान छ । त्यसैगरी बच्चाहरुलाई सानैदेखि आफ्नो भाषा र संस्कृति बुझाउन पनि बाल साहित्यिक पत्रिकाहरुको महत्त्वपूर्ण योगदान छ । तर अहिले कस्तो स्थिति छ भन्दाखेरी सम्पादक/प्रकाशकले आफ्नो खर्चले निकाल्नुपर्ने, सरकारको कुनै उत्तरदायित्व नहुने एउटा परिस्थिति उत्पन्न भएको छ ।,’’ सांसद पन्तले भन्नुभयो, ‘‘म नेपाल सरकार खास गरेर सञ्चार मन्त्रालय र संस्कृति मन्त्रालयको चाहिँ यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । ती पत्रिकाहरुलाई जोगाउनका लागि आर्थिक सरसहयोग र विज्ञापनको व्यवस्था गर्ने कुरामा सरकारको र सम्बन्धित मन्त्रालयहरुको ध्यान जाओस् ।’’ सांसद पन्तले सरकारले साहित्य र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने पनि बताउनुभयो ।