काठमाडौँ, साउन १५ गते । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गर्नुभएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले सम्भव भएसम्म विषादी प्रयोगमा न्यूनीकरण गर्न आग्रह गर्नुभयो । उहाँले विषादीको प्रयोग कम गरे रोगहरु घट्ने र सबैलाई फाइदा हुने बताउनुभयो । उहाँले मन्त्रालयले गर्नसक्ने सहयोग गर्न आफू प्रतिवद्ध रहेको पनि जानकारी दिनुभयो ।
मन्त्री अधिकारीले रैथानी बालीको बेवास्ता गरिएको भन्दै आपत्ति जनाउनुभयो । कालीमाटी तरकारी बजार र सिङ्गो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पुर्याउन पुग्न आफूले सक्दो प्रयास गर्ने पनि बताउनुभयो ।
‘‘हामीले रैथाने बाली बेवास्ता गरेका छौँ । विकासे बालीलाई किराहरु लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन । मल प्रयोग नगरी सुख छैन । वस्तुको मलले फल्दैन । अवस्था अत्यन्त गम्भीर छ । विषादी सम्भव भएसम्म न्यूनीकरण गरौँ । विषादी प्रयोग नगरौँ । हामीले यो कुरालाई तीव्रताकासाथ लैजान सक्यौँ भने बढी फाइदा हुन्छ ।,’’ मन्त्री अधिकारीले भन्नुभयो, ‘‘रोग धेरै घट्छ । विषादी प्रयोग गरेका सामान खाइयो भने सबैको घर र चुल्होमा समस्या हुन्छ । कालीमाटी तरकारी बजार र सिङ्गो उपत्यकालाई बचाउनका लागि उपत्यकाको चुल्होमा पुग्नका लागि मैले मेरो ठाउँबाट के गर्नसक्छु म त्यो गर्न तयार छु ।’’
कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिङ्गो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्ने बताउनुभयो ।