• १५ साउन २०८१, मङ्गलबार

आज खिर खाने दिन, यस्ता छन् खिरका फाइदा

blog

काठमाडौँ, साउन १५ गते । नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ ।  परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो । 

कृषिप्रधान देश भएकाले खिर दिवसको धेरै नै महत्त्व छ । खेती गरेर थाकेको शरीरलाई ऊर्जा प्रदान गर्न खिर खाने चलन चलाएको हुन सक्ने डा.कोइरालाको भनाइ छ । उहाँ भन्नुहुन्छ,“ त्यो बेला अहिलेको जस्ता विभिन्न थरी का खानेकुरा पाइँदैन थिए । खिरलाई उत्तम खाना मानिन्थ्यो । काम गरेर थाकेको शरीरलाई ऊर्जा दिन खिर खाने चलन चलाएको हुनुपर्छ ।” 

पौष्टिकताको हिसाबले पनि खिरलाई उच्च कोटीको खानाका रूपमा मानिन्छ । खिरले रोग प्रतिरोधात्मक क्षमता बढाउने डा.कोइराला बताउनुहुन्छ ।   उहाँ भन्नुहुन्छ, “बर्खाको बेला विभिन्न संक्रमणक रोग बढ्ने गर्छ । रोगको जोखिम बढी हुने हुँदा । खिर पकाएर खाँदा शरीरमा ऊर्जा मिल्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।” 

खिरमा के पाइन्छ 

खिर, दूध, घिउ, चामल, गुड,वा चिनी हालेर पकाइने गरिन्छ । दूधमा प्रशस्त मात्रमा प्रोटिन र क्याल्सियम पाइन्छ र चामलमा कार्बोहाइड्रेट पाइन्छ । यसरी पकाएको खाद्यमा प्रशस्त मात्रमा क्यालोरी पाइन्छ । जसले शरीरमा ऊर्जा प्रदान गर्ने गर्छ । 

प्रोटिनले शरीरका मांसपेशी र हड्डी बलियो बनाउन मद्दत गर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“ खिरले बिग्रिएको मांसपेशी हाडलाई बलियो बनाउन मद्दत गर्छ । बच्चाहरूलाई खिर दिँदा मांसपेशी र हड्डी बलियो बनाउन मद्दत गर्छ । बढ्दो उमेरका हड्डी, मांसपेशी पुनर्निर्माण गर्ने काम गर्छ ।”  

पछिल्लो समय खिर बनाउँदा चामल, दूध, घिउ, सुख्खा नरिवल, छोकडा, अन्य ड्राई फ्रुट र चिनी वा गुड मिसाएर पकाउँदा नरिवल, ड्राई फ्रुटले यसले थप खानालाई स्वादिलो र पौष्टिक तत्त्वले प्रदान गर्ने गर्छ । उहाँ भन्नुहुन्छ, “यसरी पकाएको खाना पूर्ण खाद्य पदार्थ हो । यसबाट क्यालोरी, प्रोटिन, मिनिरल, आइरन जस्ता शरीरलाई अत्यावश्यक पर्ने तत्त्व प्राप्त गर्न सकिन्छ ।”

खिर बच्चा, वृद्ध सबैलाई उपयुक्त हुने उहाँ बताउनुहुन्छ । यस्ता दिवसमा हाम्रो खानेकुरा यसको महत्वको विषयमा नयाँ पुस्तालाई पनि हाम्रो संस्कृतिको विषयमा सिकाउने अवसर प्रदान गर्ने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, “हाम्रो चाडपर्व निकै महत्पूर्ण छन् । स्वास्थ्यका हिसाबले पनि निकै महत्त्वपूर्ण छ यसलाई जोगाउनुपर्छ भन्ने विषयमा जानकारी दिनुपर्छ ।”

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।