• १४ साउन २०८१, सोमबार

किसानलाई अनुदानमा हाते ट्याक्टर

blog

कृषिलाई हाते ट्याक्टर प्रदान । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, साउन १४ गते । तनहुँको घिरिङ गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकमा रहेका पाँच विभिन्न वडाबाट सिफारिस भएका ३२ जनालाई हाते ट्याक्टर प्रदान गरेको हो ।

परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार गत आर्थिक वर्ष ०८०-८१ को कृषि यन्त्र तथा औजार बितरणमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत कुल १९ लाख ६८ हजारमा ३२ वटा हाते ट्याक्टर खरिद गरि वितरण गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले कृषकलाई उक्त हाते ट्याक्टर आईतबार हस्तान्तरण गर्नुभयो । परम्परागत कृषि प्रणालीलाई यान्त्रीकीरण र व्यावसायीकरण गर्न गाउँपालिकाले कृषि यन्त्र वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो । प्रति ट्याक्टरको मूल्य ६१ हजार ५ सय रहेकोमा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको कृषि शाखाका प्रमुख रवि रामदामले जानकारी दिनुभयो । 

ग्रामीण परिवेशका अधिकांश नागरिकहरू कृषि र पशुपालन पेशामा रहेको र उनीहरुलाई व्यावसायिक बनाउन आधुनिक सामग्री प्रदान गरिएको उहाँ बताउनुहुन्छ । दुई सय जना कृषकले अनुदानमा लिनको लागि निवेदन दिएको भएपनि ३२ जना अगुवा कृषकलाई छनोट गरिएको रामदामले जानकारी दिनुभयो । तनहुँमा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।

गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा गाउँपालिकाले अनुदानमा हाते ट्याक्टर दिएपछि राहत मिलेको किसान भिमबहादुर थापाले बताउनुभयो । गोरु पाल्न छाडेकोले हलो जुवा बनाउने सीप पनि हराउँदै गएको महिलाहरुले समेत जोत्न मिल्ने भएकाले हाते ट्याक्टर उपयोगी हुने थापा बताउनुहुन्छ । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरणको अभावले लक्ष्यअनुसारको उब्जनी हुन नसकेकाले कृषियन्त्र वितरण गर्नुपरेको हो । 

परम्परागत शैलीमा गरिने खेतीपातीले उत्पादकत्व ह्रास हुँदै गइरहेको छ । खनजोतदेखि मलजल गर्न सहज गराउन किसानलाई आधुनिक कृषि प्रणालीसँग जोड्न कृषियन्त्र वितरण गरेको उपाध्यक्ष राधादेवी अधिकारीले बताउनुभयो ।