• १४ साउन २०८१, सोमबार

दुईतले घर जुरुक्क उचालेर थपियो जग

blog

विराटनगर–११ स्थित बसपार्क उत्तर कोशी राजमार्गसँगै जोडिएको घर उचालेर जगमा काम गरिँदै । तस्बिर : नवराज कट्टेल

नवराज कट्टेल

विराटनगर, साउन १४ गते । विराटनगर–११ मा एक हजार ७५० वर्गफिटको घर जुरुक्क उचालेर त्यसको जग थप्ने काम भएको छ । कोशी राजमार्ग निर्माणपछि घरको बेस सडकभन्दा तल परेर समस्या भएपछि आधुनिक प्रविधिको प्रयोग गरी चारैतर्फबाट घरलाई जुरुक्क उचालेर जगको भाग करिब चार फिटसम्म थप्ने काम भएको हो । 

भारत विहार, सहरसा जिल्लास्थित एलबिएल हाउस लेफ्टिङ कन्स्ट्रक्सनको टोलीले आरसिसी गरी बनेको दुईतले भवन करिब चार फिट उचालेको हो । ‘फ्रेम स्ट्रक्चर’ भएको घरको ‘बेसबिम’ बाट उचालेर जग थप्ने काम भइरहेको छ । अहिले उचालिएको घर चारैतर्फबाट फलामको जगमा अडाइएको छ । यसरी उचालिएको घरको बेसमा मानिस नै भित्र छिरेर काम गरिरहेको देख्दा दर्शक अचम्म मान्छन् ।  

कन्स्ट्रक्सनका प्रोपाइटर तथा इन्जिनियर लालचनकुमार गुप्ताका अनुसार यसरी काम गर्दा प्रतिवर्गफिट छ सय रुपियाँ खर्च लाग्छ तर यसमा घरको क्षेत्रफल तथा तलाको आधारमा दररेट कायम हुन्छ । फ्रेम स्ट्रक्चर (पिल्लर) घरको एक तला भए चार सय, दुई तला भए छ सय, तेस्रो तलाको आठ सय रुपियाँसम्म खर्च लाग्ने जनाइएको छ । यसमा आवश्यक पर्ने निर्माण सामग्री घरधनी आफैँले उपलब्ध गराउनुपर्ने हुन्छ । 

घरको जगदेखि बेसबिम बिचमा नयाँ संरचना निर्माण गरेर पिल्लरमा जडान गरिन्छ । त्यसका लागि सबै संरचना बेसबिमभन्दा तल निर्माण गर्नुपर्ने इन्जिनियर गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ७५० स्क्वायर फिटको दुईतले घर उठाउनका लागि दुई महिना लाग्छ । विराटनगरमा डेढ महिनादेखि यो घरमा काम भइरहेको छ । अब १५ दिनमा घरको संरचना पूर्ण रूपमा बस्नयोग्य हुन्छ । 

फ्रेम स्ट्रक्चर मात्रै नभई लोड बेरिङ (पर्खाल) घरसमेत उचाल्न मिल्ने दाबी छ । त्यसको दर पिल्लरको भन्दा कम छ । एक तला मात्रैको घर प्रतिवर्गफिट तीन सय रुपियाँ लाग्ने इन्जिनियर गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा यसरी घर उचाल्ने काम सुरु भएको चार वर्ष भइसकेको छ । 

विराटनगर महानगरपालिकाकाभित्र यो छैटौँ घर लिफ्टिङ भएको छ । भारतमा भने घर ‘लिफ्ट’ र ‘सिफ्ट’ दुवै हुने गरेको बताइन्छ तर भूकम्पीय जोखिम भएको देशमा घरको लिफ्ट वा सिफ्ट गर्ने काम जोखिमपूर्ण हुन सक्ने कतिपय इन्जिनियर बताउँछन् । उनीहरूका अनुसार सेस्मिक लोड (परकम्प) धान्ने क्षमता ह्रास हुने हुँदा जोखिमको प्रबल सम्भावना हुन्छ । 

विराटनगर महानगरपालिकाका स्ट्रक्चरल इन्जिनियर दिपन कार्कीका अनुसार घर सिफ्ट वा लिफ्ट गर्ने प्रविधि विकसित मुलुकमा समेत प्रयोग भइरहेकोले जोखिम नै हुन्छ भनिहाल्नु नपर्ने बताउनुहुन्छ । उहाँले नेपालमा व्यक्तिगत रूपमा नागरिकले घरको सिफ्ट र लिफ्ट गराउन थाले पनि राज्यले यसको आधिकारिक प्रयोगबारे कुनै नीति नियम बनाइनसकेको बताउनुभयो ।