• १४ साउन २०८१, सोमबार

बस फेला पर्ने सम्भावना क्षीण

blog

वसन्त पराजुली

नारायणगढ, साउन १४ गते । त्रिशूली नदीमा यात्रुसहित हराइरहेका दुई वटा बस फेला पर्ने सम्भावना क्षीण बन्दै गएको छ । नेपाली र भारतीय गोताखोर तथा प्राविधिकको प्रयास दुर्घटना भएको १७ औँ दिनसम्म पनि असफल भएपछि सम्भावना क्षीण देखिएको हो । 

बसको खोजी गर्न आएको भारतीय टोलीको आइतबार बिदाइ भएको छ । उनीहरूले ल्याएका आधुनिक उपकरणबाट पनि खोजी सफल हुन सकेको थिएन । गत असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोमा ६५ जना यात्रुसहित दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । 

६५ यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका थिए । हालसम्म घटनामा परेका २४ जनाको शव भेटिएको र १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । अन्य ३८ यात्रुको अवस्था भने बससँगै अज्ञात छ । काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठामाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस हराइरहेका हुन् ।

यसर्थ यी दुई बस पनि हालसम्म नभेटिएकाको सूचीमै परेका छन् र यसअघि त्रिशूलीमा बेपत्ता भएका र नभेटिएका छ वटा सवारीसाधनको सूचीमा थपिन लागेका छन् । 

२०४९ सालयता त्रिशूलीमा २२ वटा सवारीसाधन हराइरहेका छन् । २०४९ सालमै सिमलतालबाट ४२ यात्रुसहित बेपत्ता भएको यात्रुवाहक बस अझैसम्म फेला पर्न सकेको छैन । 

यस्तै पूर्वगृहमन्त्री माधव घिमिरेसहित तीन जना यात्रु रहेको बा ९ ख १५३१ नम्बरको स्कोरपियो २०७३ असोज ९ गते त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । सशस्त्र प्रहरी बल आँपटारीका अनुसार आव २०७३/७४ मा पाँच वटा, २०७४/७५ मा चार, २०७५/७६ मा चार, २०७६/७७ मा एक, २०७७/७८ मा एक, २०७९/८० मा एक र २०८०/८१ मा पाँच वटा सवारीसाधन त्रिशूलीमा बेपत्ता भएका छन् । यस आधारमा गत असार २८ गते हराएका बस पनि फेला नपर्ने सम्भावना बढेको छ । 

तथापि स्थानीय प्रशासनले खोजी कार्य जारी राख्ने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतबार पत्रकार सम्मेलन गर्दै हराइरहेका गाडी फेला पर्न नसकिएको जानकारी दिनुभयो । भारतीय टोली फर्किए पनि नेपाली टोलीले भने खोजी कार्य निरन्तर जारी राख्ने बताउनुभयो ।

“नेपाली स्रोतसाधनसँगै भारतबाट विशेष उपकरणसहितका विज्ञ टोली परिचालन गरिए पनि अहिलेसम्म दुवै बस फेला पार्न सकिएको छैन,” उहाँले भन्नुभयो । नेपाल तथा भारतका खोजकर्ताले चुम्बक र पानीभित्र समेत खोज्न मिल्ने क्यामरालगायतका उपकरण प्रयोग गरेर खोजेका हुन् । भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सका गोताखोर र प्राविधिक गरी १२ जनाको टोली आइतबार बिदा भएको छ । भारतीय टोली साउन ६ गतेदेखि खोजी कार्यमा संलग्न थियो । 

प्रजिअ यादवले त्रिशूलीमा खोज तथा उद्धार कार्य जटिल हुनुमा बढ्दो पानीको बहाव र नदीको गहिराइ, धमिलो पानी र अत्यावश्यक उपकरणको अभाव भएको बताउनुभयो । 

“पछिल्ला दुई वटा बस खोज्न हामीले १२ र १९ किलोका चुम्बक प्रयोग गर्दा पानीको बहावले सहज तरिकाले गहिराइसम्म पुग्नै दिएन । पानीको बहावलाई हेर्दा कम्तीमा ८० किलोको चुम्बक आवश्यक पर्ने भारतीय प्राविधिक टोलीले सुझाएको छ,” उहाँले भन्नुभयो ।