• १३ साउन २०८१, आइतबार

प्रतिनिधि सभा शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

blog

प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरे ।

काठमाडौँ, साउन १३ गते। प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यले विभिन्न विषयमाथि सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले सडक दुर्घटना र हवाई दुर्घटनामा निधन हुनेप्रति सरकारले विभेद गरेको बताउनुभयो।उहाँले सिमलतालमा बस दुर्घटना हुँदा मन्त्रिपरिषद्‍मा शोक प्रस्ताव पारित नगरिएको तर हवाई दुर्घटना हुँदा शोक प्रस्ताव पारित गरी राष्ट्रिय झण्डा झुकाइएको भन्दै यसप्रति सरकारसँग जवाफ माग गर्नुभयो।

प्रतिनिधि सभा सदस्य अमृतादेवी अग्रहरीले देशमा नीति, ऐन, कानुन धेरै भएपनि कार्यान्वयनमा कमी भएको बताउनुभयो।उहाँले राज्यको तल्लो निकायदेखि माथिल्लो निकायसम्म जहाँ जाँदा पनि ऐन, कानुन बाझिएको कुरा आउने भन्दै यसले नागरिकहरू समस्यामा परेका बताउनुभयो।

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले आजसम्म संसदमा कुरा उठाइएका चर्चित भ्रष्टाचार काण्डको निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गर्नुभयो।

प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीले नेपालीलाई भुटानी शरणार्थीलाई मन्त्री बनाइएको बताउनुभयो।त्यस्तै स्काउटको जग्गा हडप्ने र लुम्बिनी प्रदेशमा हत्या आरोपीलाई मन्त्री बनाइएको भन्दै सरकार कुशासनको जगमा उभिएको बताउनुभयो।

प्रतिनिधि सभा सदस्य असीम साहले जहाज दुर्घटनासँगै प्राधिकरण, मानवीय समवेदना र मिडिया समेत घाइते भएका टिप्पणी गर्नुभयो।उहाँले यस अगाडिका कयौँ दुर्घटनाहरूबाट सरकारले पाठ नसिकेको भन्दै सरकारको सोच पनि घाइते भएको बताउनुभयो।

प्रतिनिधि सभा सदस्य कालुराम राईले सडकपेटी खुला राख्नु अपाङ्गता भएका व्यक्तिको ज्यान जाने धराप थाप्नु भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।उहाँले सडकपेटीमा रेलिङ बनाउने, र्‍याम्प राख्ने तथा गाइडिङ ब्लक राखी अपाङ्गता पहुँचयुक्त सडक बनाउन माग गर्नुभयो।

प्रतिनिधि सभा सदस्यले आ–आफ्नो क्षेत्र तथा जिल्लाहरूमा प्राकृतिक प्रकोपका कारण घटनाहरू घटिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।