• १३ साउन २०८१, आइतबार

नेपालगन्ज मेडिकल कलेजबाट तीन हजारभन्दा बढी चिकित्सक उत्पादन

blog

नेपालगन्ज मेडिकल कलेज, चिसापानी बाँके । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन १३ गते । नेपालगन्ज मेडिकल कलेजबाट तीन हजारभन्दा बढी चिकित्सक उत्पादन भएका छन् । २०५४ सालबाट कलेजले एमबिबिएस पढाई सुरु गरेकोमा हालसम्म सो कलेजबाट तीन हजार २४२ जना विद्यार्थीहरु एमबिबिएस उर्तीण भईसकेको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका निर्देशक एवम् प्राध्यापक डा. रेशमबहादुर रानाले जानकारी दिनुभयो । 

उहाँले गत २७ वर्षको अवधीमा कलेजले नेपाल, भारत र श्रीलङ्काका गरेर तीन हजार २४२ जना चिकित्सक उत्पादन गरेर स्वास्थ्य क्षेत्रका लागि ठुलो योगदान गरेको बताउनुभयो । 

बाँकेको चिसापानीमा कलेजको प्रमुख संरचना छ । शिक्षण अस्पताल भने नेपालगन्ज र कोहलपुरमा छन् । यसैगरी सन् २०१२ बाट मेडिकल कलेजमा सुरु भएको (एमडी-एम.एस) अध्यापनबाट हालसम्म ३४४ जना विद्यार्थी विशेषज्ञ चिकित्सकका रुपमा उर्तीण भएको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका निर्देशक एवम् प्राध्यापक डा. रानाले बताउनुभयो । 

उहाँका अनुसार कलेजबाट विद्यार्थीले फिजिसियन, सर्जन, हाडजोर्नी, नाक, कान, आँखा सम्बन्धी रोग लगायत विभिन्न विषयमा एमडी÷एम.एस.उर्तीण गरेका हुन् । निर्देशक प्रा.डा.रानाले थप्नुभयो, "एमडी-एम.एस पास गरेर मेडिकल कलेजले यस क्षेत्रमा विशेषज्ञको पनि ठुलो जनशक्ति उत्पादन गरेको छ ।"

यसैगरी सो कलेजबाट ५२ जना विद्यार्थीले बि.एस्सी नर्सिङ विषय उत्तीर्ण गरिसकेका छन् । मेडिकल कलेजद्वारा सञ्चालित शिक्षण अस्पताल कोहलपुरमा हाल १३ वटा विभाग र करिब ५ वटा विशिष्टीकृत सेवा सञ्चालनमा रहेको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ । 

नेपालगन्ज मेडिकल कलेजले विद्यार्थी भर्ना गरेर चिकित्सक उत्पादन शुरु गरेपछि बाँके, बर्दिया, सुर्खेत, दाङलगायतका जिल्लाबाट धेरै विद्यार्थीले चिकित्सक बन्ने अवसर पाएका छन् । 

मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेका अधिकांश चिकित्सकले यसै क्षेत्रका बिरामीको स्वास्थ्य उपचार सेवा गरिरहेको पाइएको पनि नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।