• ११ साउन २०८१, शुक्रबार

गुल्मीमा उद्योग दर्ता कमी

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन १० गते । गुल्मीमा नयाँ उद्योग दर्तामा कमी आएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा बर्सेनि भइरहेका नयाँ दर्ता र लगत कट्टाको अवस्था हेर्दा घरेलु तथा साना उद्योगको अवस्था घट्दै गएको पाइएको हो । 

आर्थिक वर्ष २०७८-०७९ मा विभिन्न प्रकारका ३१२ घरेलु तथा साना उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९÷०८० मा ११३ दर्ता भएका छन् । यस्तै आर्थिक वर्ष ०८०÷८१ मा ७३ वटा उद्योग मात्रै दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जीवन घिमिरेका अनुसार आर्थिक वर्ष २०७८-०७९ मा उत्पादनमूलक उद्योग २८, कृषि तथा वनजन्य उद्योग १८८, पर्यटन उद्योग ५०, सेवामूलक उद्योग ४६ गरी ३१२ उद्योग दर्ता भएको छ । त्यस आर्थिक वर्षमा नयाँ उद्योग दर्ता भन्दा नवीकरणको सङ्ख्या धेरै थियो । उहाँका अनुसार सो आर्थिक वर्षमा ३३१ उद्योग नवीकरण गरिएको छ भने १६२ उद्योगको लगत कट्टा गरिएको छ । 

आर्थिक वर्ष २०७९-०८० मा उत्पादनमूलक उद्योग ९, कृषि तथा वनजन्य उद्योग ५९, पर्यटन उद्योग १७, सेवामूलक २८ गरी ११३ उद्योग दर्ता भएका छन् । त्यस आर्थिक वर्षमा पनि उद्योग नवीकरण सङ्ख्या धेरै छ । जसमा २२६ उद्योग नवीकरण गरिएको छ । भने १३२ उद्योगको लगत कट्टा गरिएको घिमिरेले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷०८१ मा उत्पादन मूलक ११, कृषि तथा वनजन्य उद्योग २७, पर्यटन उद्योग १३, सेवामूलक २२ गरी ७३ उद्योग वटा दर्ता भएको देखिन्छ । त्यस आर्थिक वर्षमा पनि नवीकरणको सङ्ख्या धेरै छ । घिमिरेका अनुसार २९५ उद्योगको नवीकरण गरिएको छ, भने १५९ उद्योगको लगत कट्टा गरिएको छ । 

नयाँ दर्तामा किन कमी आयो त भन्ने प्रश्नमा, उहाँले भन्नुभयो,– ‘स्थानीय तहमा पाँच लाख रुपियाँसम्म पुँजी भएको उद्योग दर्ता गर्ने प्रचलन छ । पाँच लाखभन्दा माथि पुँजी भएका उद्योग मात्रै घरेलु कार्यालयमा दर्ता गरिन्छ । त्यस कारणले पनि नयाँ उद्योग दर्तामा कमी आएको हुन सक्छ ।’  सो कार्यालयमा गत वर्ष कुल २६ लाख चार हजार ६६० रुपियाँ राजस्व सङ्कलन भएको छ । जसमध्ये यातायातबाट ७१ हजार ३८०, उद्योगबाट १० लाख ५२ हजार ८००, वाणिज्य अर्थात् पसलहरूबाट १४ लाख २३ हजार २०५ रूपियाँ राजस्व सङ्कलन भएकाे घिमिरेले जानकारी दिनुभयो ।