• ११ साउन २०८१, शुक्रबार

प्रयोगशालाको मापदण्डमै कैफियत

blog

धनगढी समाचारदाता

धनगढी, साउन ११ गते । खाद्य तथा दानालगायत विभिन्न वस्तुको मापदण्ड एवं गुणस्तर जाँच गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी प्रयोगशालाको मापदण्डमै कैफियत देखिएको छ । भौतिक संरचना अभावका कारण सो कार्यालयले प्रयोगमा ल्याएको प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सञ्चालन हुन नसकेको पाइएको छ । पर्याप्त ठाउँ नभएका कारण मापदण्ड पूरा नगरी अव्यवस्थित तरिकाले प्रयोगशाला सञ्चालन गरेको पाइएको छ । 

खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहोराले कार्यालयमा संरचनाका लागि ठाउँको अभाव रहेकाले एउटै कोठाबाट जसोतसो प्रयोगशाला सञ्चालन गरेको बताउनुभयो । उहाँका अनुसार यो अन्तर्राष्ट्रिय मापदण्ड पुगेको प्रयोगशाला भने होइन ।

गुण नियन्त्रण कार्यालयले खाद्य तथा दानाको नमुना विश्लेषण, अनुज्ञापत्र जारी, नवीकरण, सिफारिस गर्नेलगायत कार्य गर्दै आएको छ । 

बजार तथा होटेल, रेस्टुरेन्ट अनुगमनमा पनि सो कार्यालयको महत्त्वपूर्ण भूमिका छ । बजारबाट सङ्कलन भएका खाद्य तथा दानाका नमुनालाई प्रयोगशालामा परीक्षण गरेर खानयोग्य भए÷नभएको विश्लेषणको काम हुने गर्छ तर व्यवस्थित प्रयोगशालाको अभावमा धेरै चुनौती रहेको अधिकृत बोहोराको भनाइ छ । 

“हामीलाई स्तरीय प्रयोगशाला अति आवश्यक छ,” उहाँले भन्नुभयो, “अहिले पुरानो भवनमा रहेको प्रयोगशालाले हुँदैन । प्रयोगशालाका लागि कार्यालय भवन नै मिलेको छैन ।” 

सो कार्यालयको पुरानो भवन जीर्ण भइसकेको जनाइएको छ । नयाँ भवन निर्माण र प्रयोगशालाका लागि बजेट माग गरिएको थियो । चालु आर्थिक वर्षमा बजेट आए पनि जग्गा अभाव देखिएको जनाइएको छ ।  उहाँका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको पाँच कट्ठा जग्गा रहेको थियो । त्यसमध्ये मन्त्री निवास निर्माणका लागि आधा जग्गा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रयोग गरिरहेको छ । 

मन्त्रालयले जग्गा लिएपछि नयाँ भवन निर्माण गर्न कठिनाइ रहेको उहाँले उल्लेख गर्नुभयो । “प्रयोगशालाकै लागि मात्रै छुट्टै भवन बनाउन अब जग्गा छैन,” बोहोराले भन्नुभयो, “मुख्य समस्या जग्गाकै देखिएको छ । कार्यालयअगाडि अलिकति पार्किङ क्षेत्र छ । त्यसमा प्रयोगशाला भवन बनाउँदा मापदण्ड नपुगेर उपमहानगरपालिकाले भत्काइदिएमा झन् अर्को समस्या हुन जान्छ ।”

दरबन्दी अपुग

गुण नियन्त्रण कार्यालयको कार्यक्षेत्र बढ्दै गए पनि दरबन्दी अनुसार दक्ष जनशक्तिको अभाव देखिएको छ । ३५ जना कर्मचारीको स्वीकृत दरबन्दी भए पनि चार जना कर्मचारीको दरबन्दी अझै रिक्त रहेको छ । दुई जना खाद्य अनुसन्धान अधिकृत र दुई जना नायब सुब्बाको दरबन्दी रिक्त रहेको छ । पछिल्लो समय यो कार्यालयले डोटी, डडेलधुरालगायत पहाडी जिल्लामा डिभिजन कार्यालय विस्तार गरेर सेवा प्रवाह गरिरहेको जनाइएको छ ।